विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छ : संयोजक दाहाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उहाँले सङ्कटको समयमा सरकार जनताको साथमा हुनुपर्ने बताउनुभयो ।

“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आम नागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ”, संयोजक दाहालले भन्नुभयो, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई पनि विपद्को अवस्थामा थप क्रियाशील बनाइनुपर्नेमा जोड दिनुभयो ।
विसं २०७२ को भूकम्प लगायत राष्ट्रिय सङ्कटको घडीमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक दाहालले बाढीपश्चात् खोज, उद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताउनुभयो ।
“बाढीपछिको उद्धारमा कमीकमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ, राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनः निर्माणमा सरकारका गम्भीर बन्नुपर्छ”, संयोजक दाहालले भन्नुभयो, “राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने सरकारलाई अवसर छ, यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्छ ।”
संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्