तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र उपचारको प्रबन्ध मिलाएको छ : प्रधानमन्त्री 

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ मार्फत सूचना सङ्गठन, समन्वय र अनुगमन सुरु गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरिएको बताउनुभयो । सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रस लगायतको सहकार्यमा मेडिकल टिमलाई प्रभावित क्षेत्रमा खटाएको जानकारी गराउँदै उहाँले आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब लगायतसँग समन्वय सुरु गरिएको उल्लेख गर्नुभयो ।

बाढी आएकै दिन यही भदौ १० गते दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको टोली स्थल मार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ लागेको र त्यसयता राज्यका सम्पूर्ण संयन्त्रहरूबाट प्रभावित क्षेत्रको स्थितिबारे निरन्तर ब्रिफिङ लिइएको प्रधानमन्त्री वालेन्द्र शाहको भनाइ थियो ।

उहाँले प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह गरिएको र प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको मात्रै चिन्ता नभई घरबार विहीन हुनु भएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी रहेको बताउनुभयो ।

घटना भएको दिन बुधबार मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी गराउँदै उहाँले त्यसैदिन रातिसम्ममा प्रभावित क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गराइएको बताउनुभयो ।

विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरिएको बताउँदै प्रधानमन्त्री शाहले प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दिएको र खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लगिएको उल्लेख गर्नुभयो ।

त्यस दिन, राति ८ बजेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका र ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिसकिएको प्रधानमन्त्री शाहले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको सदनलाई जानकारी गराउनुभयो ।

विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट त्रिशूली पठाएको, काठमाडौँमा भएको थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको र सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँले जानकारी गराउनुभयो ।

“प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सडकलाई प्रभावित क्षेत्रसँग जोड्ने प्रयास पनि सुरु भयो,” उहाँले भन्नुभयो , “घटना भएलगत्तै हामीले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेका थियौँ । केहीबेर अघिसम्म ११ हजार ९९३ जना मानिसहरूको उद्धार गरिसकेका छौँ ।” तर, पनि तीन ९१६ जना सम्पर्कविहीन रहेका र उद्धार गरेर विभिन्न अस्पतालहरूमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १८२ जनालाई उपचार पस्चात घर पठाइएको प्रधानमन्त्री शाहले बताउनुभयो । बाँकी घाइतेहरूको पनि स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मी लागिरहेको उहाँको भनाइ थियो ।

काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका बताउँदै प्रधानमन्त्री शाहले उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमहरूबाट सूचना प्रवाह समेत भइरहेको छ ।”

‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button