बिजी ग्रुपको मानवीय पहल : बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख ७७ हजार सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरूबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन घडीमा राज्यसँगै उभिँदै बिजी ग्रुपले गरेको यो महत्वपूर्ण सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरण प्रस्तुत गरेको छ।
बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। मङ्गलवार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम उपलब्ध गराएको हो।
बिजी ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा अकल्पनीय रूपमा ठूलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा भएको सहयोग हस्तान्तरणले विपद्को समयमा निजी क्षेत्रको सक्रिय सहभागितालाई थप अर्थपूर्ण बनाएको छ। कार्की ऊर्जा तथा जलविद्युत् क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी हुन् भने लामिछाने उद्योग तथा व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रको प्रतिनिधित्वमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्।
बटु र गणेश: व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रसर
गणेश कार्की र बटु लामिछानेको नेतृत्वमा रहेको बिजी ग्रुपले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। इप्पान नेपालका पूर्व अध्यक्ष समेत रहेका कार्की र नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यसमेत रहेका लामिछाने निजी क्षेत्रका सक्रिय व्यवसायीका रूपमा परिचित छन्।
बिजी ग्रुपअन्तर्गत ५ वटाभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न व्यावसायिक उद्योग र कम्पनीहरू सञ्चालनमा रहेका छन्। जलविद्युत् तथा अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आएको ग्रुपले विपद्का बेला आफ्नो व्यावसायिक हैसियतलाई मानवीय सेवासँग जोड्दै गरेको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेष गरी बाढीपहिरो, प्राकृतिक विपद् र सङ्कटका बेला निजी क्षेत्रले राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्नुपर्ने आवश्यकता बढिरहेका बेला बिजी ग्रुपको यो सहयोग उदाहरणीय बनेको छ।
१ करोडभन्दा बढीको सहयोगमार्फत बटु लामिछाने र गणेश कार्कीले सङ्कटमा परेका नागरिकप्रति निजी क्षेत्रको जिम्मेवारी र संवेदनशीलता प्रदर्शन गरेका छन्। व्यवसायबाट आर्जित सफलतालाई समाजको दुःखमा समेत उपयोग गर्नुपर्छ भन्ने सन्देश दिने यो पहलले अन्य व्यवसायी तथा व्यावसायिक समूहलाई समेत सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
विपद्ले घरबार, परिवार र जीवन नै सङ्कटमा पारेका नागरिकका लागि यतिबेला सरकार, निजी क्षेत्र र आम नागरिक सबैको सहयोग आवश्यक छ। यही आवश्यकतालाई आत्मसात् गर्दै बिजी ग्रुपले गरेको १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको सहयोग रकम राहत र उद्धार अभियानमा महत्वपूर्ण योगदान बन्ने विश्वास गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्