सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी
बैतडी । सुदूर पश्चिमेलीहरूको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरि भगवान् शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

यो वर्षको गौरा आजदेखि शुरु भएको आचार्य घनश्याम लेखकले बताउनुभयो । भाद्र शुक्ल पञ्चमीका दिन बिरुडा भिजाएर व्रतालु महिलाहरूले गौरा पर्वको शुरुवात गरेका छन् । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरू पनि खेल्ने चलन रहेको छ । गौरा पर्व शुरु भएसँगै यहाँका गाउँघरमा चहलपहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरू समेत घर फर्केकाले गौरामा रमाइलो हुने गरेको स्थानीयहरूले बताएका छन् ।
व्रतालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रहीआएको स्थानीय जयन्ती पन्तले बताउनुभयो । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडा पञ्चमीकै दिनदेखि व्रतालु महिलाहरूले गौराको पूजाआजा गर्ने गरेका छन् ।
पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याइन्छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौरा खलामा लगेर पूजा गर्ने चलन छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीका दिन घर–घरमा व्रतालु महिलाहरूले तामा वा पित्तलको भाडामा पाँच प्रकारका अन्न भिजाउने गर्दछन् । गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकारका अन्नलाई बिरुडाको रुपमा भिजाउने र पञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।








प्रतिक्रिया राख्नुहोस्