नेपाली सेनाद्वारा बाढी प्रभावित क्षेत्रमा तीव्र खोजी तथा उद्धार जारी

काठमाडौँ। भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढी र पहिरोपछि नेपाली सेनाले हवाई, जमिनी तथा टनेल (सुरुङ) मार्गबाट खोजी, उद्धार, राहत कार्यलाई निकै तीव्र बनाएको छ।
भाद्र १६ गते बिहान ११:०० बजेसम्मको अद्यावधिक विवरण अनुसार सेनाको सक्रियतामा विभिन्न जलविद्युत् आयोजनाका जटिल सुरुङहरू तथा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य निरन्तर अघि बढिरहेको छ।
सोमबार बिहान ११:०० बजेसम्म नेपाली सेनाको हवाई साधनमार्फत थप २३ जनाको सुरक्षित उद्धार गरिएको छ। बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र थुनिएका वा हराइरहेकाहरूको खोजीका लागि विशेषज्ञ टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोली टनेलभित्र करिब ५० मिटर र लाङटाङ हाइड्रोमा १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको छ। त्यस्तै अपर त्रिशूली-१ हाइड्रोको टनेलभित्र करिब २०० मिटरसम्म पुगेर खोजी भइरहेको छ।
सबैभन्दा जटिल मानिएको त्रिशूली-३ए जलविद्युत् आयोजनामा टनेल हेड फेला पारी कम्प्रेसरमार्फत भित्र हावा पठाउने र जमेको पानी निकाल्ने काम भइरहेको छ। त्यहाँ रक ब्रेकर प्रयोग गरेर प्रवेशद्वारका ढुङ्गा फुटाउने कार्यका साथै तीन वटा एक्स्काभेटर सहयोगमा पछाडिपट्टिको करिब १५ मिटर वैकल्पिक मार्ग खोलिसकिएको छ। त्रिशूली-३बी मा पनि विज्ञसहितको फौजले टनेलको मुख्य प्रवेशद्वार पत्ता लगाएर एक्साभेटरमार्फत खन्ने काम जारी राखेको छ। यसअघि बाढी आउनासाथै नेपाली सेनाले विभिन्न हाइड्रो इलाकाहरूबाट २७९ जनाको जीवितै उद्धार गरिसकेको छ, जसमा माथिल्लो त्रिशूली-३ए बाट २२१ जना, माथिल्लो त्रिशूली-१ बाट ३३ जना, मैलुङबाट ९ जना, देवघाटबाट ५ जना, नुवाकोट सौर्यबाट ४ जना, त्रिशूलीबाट ३ जना र रसुवागढी-२ तथा माथिल्लो त्रिशूली-३बी बाट २-२ जना रहेका छन्।
जमिनी तहमा स्थानीयवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावित क्षेत्रका जङ्गल, डाँडाकाँडा, खोला र बस्तीहरूमा पैदल गस्ती गरी उद्धारको आवश्यकता मूल्याङ्कन भइरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) सम्मका प्रभावित क्षेत्रहरूमा ९ हजार २ सय भन्दा बढी सैनिक फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन स्वास्थ्य उपचारमा रातदिन काम गरिरहेको छ।
यसैगरी बाढीपछिको महामारी फैलिन नदिन धुन्चे बजार, त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्र, देवघाट, परासीको पृथ्वीचन्द्र अस्पताल र मूलपानी सामुदायिक वन इलाकाहरूमा निसंक्रमण (Disinfect) गर्ने कार्य सम्पन्न भइसकेको छ। अन्य बाँकी प्रभावित स्थानहरूमा पनि स्थानीय निकायहरूसँग समन्वय गरी निसंक्रमण प्रक्रिया अगाडि बढाइने नेपाली सेनाले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्