रसुवागढी आयोजनाको सुरुङभित्र कोही नभेटिएपछि फर्कियो नेपाली सेनाको टोली

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी पूरा गरी नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजी कार्यमा खटिएको थियो। टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई विस्तृत खोजी गरेको थियो।

तलास गर्दा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति नभेटिएको र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य औपचारिक रूपमा सम्पन्न गरिएको छ। सुरुङभित्र स्थिति सुरक्षित रहेको निश्चित भएसँगै सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।








प्रतिक्रिया राख्नुहोस्