तपाईँ सुन्दै हुनुहुन्छः

भारी वर्षापछि डोटीमा सतर्कता अपनाउन प्रहरीको आग्रह

डोटी । डोटीमा भारी वर्षा भइरहेकाले जिल्ला प्रहरी कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण सेती नदीसहित जिल्लाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी, खोला र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान प्रहरीले अनुरोध गरेको हो।

प्रहरीले नदी तथा खोला किनारमा दाउरा, गोल लगायतका सामग्री सङ्कलन गर्न नजान र बालबालिकालाई पनि त्यस्ता जोखिमयुक्त क्षेत्रमा जान नदिन आग्रह गरेको छ।

यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने परिवारलाई सम्भावित बाढी तथा अन्य विपद्लाई ध्यानमा राख्दै घरका बहुमूल्य सामान, नगद, सुनचाँदी तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ।

कुनै विपद् वा अप्रिय घटना भए तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय डोटीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीको हटलाइन कन्ट्रोल नम्बर ९८५८४४०१०९, सञ्चार शाखाको ९८५८४४०४७ र इलाका प्रहरी कार्यालय दिपायलको ०९४–४०७७७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button