नौबस्ता कारागारका कैदी बन्दीद्वारा बाढीपीडितका लागि सहयोग
बाँके । बाँकेको नौबस्ता कारागारका कैदीबन्दीले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गरेका छन्।

कारागार कार्यालय नौ बस्ताको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरी रु. ४९ हजार ५ सय १० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कारागार कार्यालय नौ बस्ताका प्रमुख दलबहादुर बस्नेतका अनुसार बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कैदीबन्दीले पीडित नागरिकको सहयोगका लागि आफ्नो क्षमताअनुसार आर्थिक योगदान गरेका हुन् ।
उहाँले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो। साथै, विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
प्रमुख बस्नेतले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
कारागारमा रहेका कैदीबन्दीले समेत विपद्का बेला पीडित नागरिकको दुःखमा साथ दिँदै स्वैच्छिक रूपमा सहयोग गर्नु मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण भएको कार्यालयले जनाएको छ ।
कारागार कार्यालयले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा राज्यका निकायसँगै नागरिक समाज, सङ्घसंस्था र आम नागरिकको सहयोग आवश्यक रहेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्