तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेश मन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री फेलिक्स प्लासेन्सियाबीच आज टेलिफोन वार्ता भएको छ । 

वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

मन्त्री प्लासेन्सियाले भेनेजुएलाका राष्ट्रपति, सरकार तथा जनताकातर्फबाट बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै नेपालप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

मन्त्री प्लासेन्सियाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपालसँग आफ्नो देशको ऐक्यबद्धता रहेको बताउनुभएको थियो । 

परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा भेनेजुएलाका राष्ट्रपति तथा सरकारबाट व्यक्त गरिएको समर्थन, ऐक्यबद्धता र समवेदनाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । 

मन्त्री खनालले बाढी तथा विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले आफ्नो नियन्त्रणमा रहेका सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारीसमेत गराउनुभयो । 

उहाँले प्रभावित सबै नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र राहत वितरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button