बाढी आएको त्यो क्षण : ‘दुई मिनेट ढिलो भएको भए……’

सुनसरी । बेत्रावती पुल पार गरेको करिब दुई मिनेट मात्रै भएको थियो। गाडीमा रहेका पाँचै जना साथी यात्राको रमाइलोमा थियौ । अचानक ठूलो आवाज आयो ‘ग्वाँऽऽ’ के भएको हो, तत्काल बुझ्न सकिएन। पछाडि फर्केर हेर्दा दृश्य कल्पनाभन्दा बाहिरको थियो। पुलसँगै मानिस र गाडीहरू बाढीको भेलमा बगिरहेका थिए। केही क्षणअघि आफूहरूले पार गरेको बाटो र वरपरको भूगोल नै चिनिन नसक्ने गरी धुलोमैलो र पानीको भेलले ढाकिसकेको थियो। ‘दुई मिनेट ढिलो भएको भए हामी निश्चित रूपमा त्यहीँ पर्थ्यौँ,’ सुनसरीको रामधुनी नगरपालिका–४ का १९ वर्षीय नवराज ढकाललाई अहिले पनि त्यो क्षण सम्झँदा सपना जस्तै लाग्छ ।
नवराज पाँच जना साथीसँग रसुवाको गोसाइँकुण्ड भ्रमणका लागि काठमाडौँबाट १० गते निस्किएका थिए । काठमाडौँबाट हिँडेको भोलिपल्ट उनीहरू बिहानै यात्रालाई निरन्तरता दिँदै रमाइलो गर्दै उकालो लागेका। तर केही समयमै उनीहरूको यात्रा जीवनकै सबैभन्दा भयावह अनुभवमा बदलियो। अचानक आएको बाढीले कल्पनासम्म नगरेको विपत्ति आँखै अघिल्तिर आइलाग्यो। बाटोमै गाडी छाडेर ज्यान जोगाउन भीर–पहाडको सहारा लिएर माथितिर उक्लिए। केही समयपछि त्यहीँ रात बिताए। मोबाइलमा टावर थिएन। बिजुली थिएन। घरमा सम्पर्क गर्ने कुनै माध्यम थिएन। ‘हामी सकुशल छौँ, तर यो खबर घरसम्म कसरी पुर्याउने भन्ने चिन्ताले सताइरह्यो,’ नवराज भन्छन्, ‘घरमा के भइरहेको होला भन्ने सोचेर झन् डर लाग्थ्यो।’ भोलिपल्ट गोसाइँकुण्डतर्फको यात्रा फेरि नवराजको टोली अघि बढ्यो । होटलमा पुगेपछि मात्रै घरमा सम्पर्क गर्न सके। त्यतिबेला आमा, बुवा, भाइबहिनी सबै निकै आत्तिएका रहेछन्। सम्पर्क भएपछि मात्रै परिवारले लामो सास फेर्यो।
काठमाडौँको दरबार हाइस्कुलमा अध्ययनरत नवराजका लागि त्यो दिन अब सामान्य यात्राको एउटा घटना मात्रै रहेन। त्यसलाई ‘जीवन र मृत्युबीचको दूरी दुई मिनेट मात्रै भएको दिन’का रूपमा झस्काउने क्षण रह्यो। ‘मैले त्यही दिन पहिलोपटक मृत्युलाई यति नजिकबाट नियालेँ,’ उनी भन्छन्, ‘मानिसहरू बेखबर थिए आखिर हुँदै छ के? । तर घरहरू, गाडीहरू र मान्छेहरू आँखैअगाडि बगेको देख्दा असाध्यै दुःख लाग्यो।’ उनी भन्छन् ‘आँखैअगाडि जे देखेँ, त्यो सुनाउन सक्दिनँ’ नवराजका लागि त्यो यात्रा अब गोसाइँकुण्ड भ्रमणको सम्झना मात्रै होइन। त्यो उनको जीवनमा एउटा यस्तो दिन बनेको छ, जहाँ दुई मिनेट अगाडि र दुई मिनेट पछाडिको समयबीच जीवन र मृत्युको फरक थियो। ‘त्यो दिन मेरो भाग्य बलियो रहेछ,’ नवराज भन्छन्, ‘अहिले सकुशल छु। तर त्यो दृश्य कहिल्यै बिर्सन सक्दिनँ।’
त्यही विपत्तिको प्रत्यक्ष साक्षी बनेका अर्का व्यक्ति हुन्, सुनसरीको देवानगञ्ज गाउँपालिका–७ का देवानन्द यादव। जिल्ला सरकारी वकिल कार्यालय रसुवामा कार्यरत यादव त्यस दिन पनि सधैँ झैँ आफ्नो दैनिक काममै व्यस्त थिए ।त्यो दिन यति ठूलो विपत्ति आउँछ भन्ने उनले कल्पनासम्म गरेका थिएनन्। तर केही क्षणमै अवस्था यस्तो बन्यो कि मानिसहरूलाई आफ्नो ज्यान जोगाउनै मुस्किल भयो। ‘आँखैअगाडि जे देखेँ, त्यो मैले सुनाउन सक्दिनँ,’ यादव भन्छन् ।

बाढीले मानिस, सवारीसाधन र संरचनाहरू बगाएपछि प्रत्यक्ष घटनास्थलमा रहेका मात्र होइन, बाहिर रहेका परिवारहरू पनि सम्पर्कबिहिनताको पिडामा परे । यादवलाई बाढीले बगाएको थिएन। तर मोबाइल र सञ्चारका माध्यमले काम नगरेपछि परिवारमा उहाँ प्रतिको चिन्ता झन् बढ्यो। ‘सम्पर्क हुन नसकेपछि परिवारमा ठूलो पीडा र तनाव भयो,’ यादव भन्छन् दुई दिनपछि बल्ल परिवारमा सम्पर्क भयो।
विपत्तिपछि यादव अहिले सशस्त्र प्रहरीको ब्यारेकमा उद्धार कार्यमा खटिएका छन् । उनका अनुसार रसुवाका विभिन्न स्थानमा भीर–पहाडमा बुट्यान समातेर ज्यान जोगाइरहेका तथा जोखिममा परेका मानिसहरूको उद्धार भइरहेको छ। ‘कतिपय मानिस भीर–पहाडमा बुट्यान समातेर बसेका छन्। उनीहरूको उद्धारमा खटिरहेका छौँ,’ यादव भन्छन् ।
एउटै विपत्तिले कसैलाई जीवनभर सम्झिरहने डर दियो, कसैलाई आफ्ना मानिस सकुशल छन् कि छैनन् भन्ने छटपटीमा पुर्यायो र कसैलाई त्यही घटनापछि उद्धारमा खटिन बाध्य बनायो।








प्रतिक्रिया राख्नुहोस्