भारत र चीनका सुरुङ उद्धार टोली खटिए बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिई काम सुरु गरेका छन् ।
रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेका बेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोलीहरू आजै नेपाल आइपुगेका हुन् ।
भारतबाट आज बिहान सहायता सामग्री तथा ११ सदस्यीय चिकित्सा र सुरुङ उद्धार टोलीसहितको उडान काठमाडौँ अवतरण गरी प्रभावित क्षेत्रमा खटिएको हो । त्यस्तै चीनबाट पनि सुरुङ उद्धार विशेषज्ञहरू अपराह्न नेपाल पुगी बाढी प्रभावित क्षेत्रमा खटिइसकेका छन् ।
नेपाल सरकारले आजै उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको जनाएको थियो ।
दुवै छिमेकी मुलुकले नेपालमा आइपर्ने यस्तै ठूला विपद्मा तत्काल सक्दो सहयोग गर्दै आएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी आएकै दिन यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन कुराकानीमा नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्