तपाईँ सुन्दै हुनुहुन्छः

गार्मा माध्यमिक विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

काठमाडौँ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुन्ड  नगरपालिका–७ मा अवस्थित गार्मा माध्यमिक विद्यालयलाई एक करोड १५ लाख रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ।

सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य माननीय प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्य तथा सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको विशिष्ट आतिथ्यमा आज काठमाडौँको चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका–७, गार्मास्थित श्री गार्मा माध्यमिक विद्यालयको अक्षयकोष रकम हस्तान्तरण गरिएको हो।

विद्यालयको दिगो आर्थिक स्रोत व्यवस्थापन तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन गरिएको अभियानबाट लक्ष्यभन्दा बढी एक करोड १५ लाख रुपैयाँ सङ्कलन गरी विद्यालयका प्रधानाध्यापक बिनोद सिंह तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोमी शेर्पालाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अक्षयकोष निर्माण अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा सहयोगदातालाई सम्मान–पत्र प्रदान गर्दै विद्यालयको शैक्षिक विकासमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरिएको थियो।

अक्षयकोष सङ्कलन समितिका सहसंयोजक, तथा सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले अक्षयकोषबाट प्राप्त रकमलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित तथा विद्यालयको दिगो आर्थिक व्यवस्थापनमा उपयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button