बाढी प्रभावित जिल्लामा टेलिकम सेवा पुनः सञ्चालनमा तीव्रता

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालनलाई तीव्रता दिएको छ।
भदौ ११ गते हेलिकप्टरमार्फत प्राविधिक कर्मचारी परिचालन गरी रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।
भदौ १२ गतेदेखि प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा बाँकी रहेका मोबाइल सेवा सञ्चालन गर्ने तथा सञ्चालनमा आएका टावरलाई थप भरपर्दो बनाउने काम गरिरहेको छ।
यसक्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोलजुङ टावर सञ्चालनमा ल्याइएको छ। यसबाट स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिकाका वडा नम्बर ४ र ५, गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर ३ र ५ तथा स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही क्षेत्रमा सेवा सुचारु भएको छ।
त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा सुचारु भएको छ।
विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमाथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक कर्मचारी पुर्याई सेवा सञ्चालनको काम भइरहेको छ।
नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू भदौ १० गतेदेखि रसुवाका न्यौपानेचौर, राम्चे, गोलजुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएका छन्।
टेलिकमका अनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १ सय २० साइटमध्ये ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको छ।
विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्