तपाईँ सुन्दै हुनुहुन्छः

सुस्ता पारीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण 

पश्चिम नवलपरासी ।  रसुवागढी क्षेत्र हुँदै आएको भीषण बाढीका कारण नारायणी नदीमा पानीको सतह उच्च भएपछि पश्चिम नवलपरासीको सुस्ताका महिला तथा बालबालिकालाई पहिलो चरणमा सुस्तावारि रहेका बिपी मावि र शिव गङ्गा आधारभूत दुई वटा सामुदायिक विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले बाढीको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा जोखिममा पर्न सक्ने महिला र बालबालिकालाई उद्धार गरी वारी ल्याइएको रेडियो नेपाललाई जानकारी दिनुभयो । दोस्रो चरणमा अन्य नागरिकहरूलाई पनि सुस्तावारि सार्ने तयारी भइरहेको छ। उद्धार तथा सम्भावित जोखिम व्यवस्थापनका लागि सबै सुरक्षा निकायका टोलीहरू सुस्ता पुग्दैछन् । केही नागरिकहरू भने आफन्तको शरणमा पुगेको बताइएको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार बाढीको त्रास बढेसँगै सुस्ताका बासिन्दाहरू घर छाडेर झोलुङ्गे पुल तर्दै वारी आउने क्रम जारी छ। उहाँकाअनुसार सुस्तामा रहेका सबै नागरिकलाई सुरक्षित स्थानतर्फ जान अपिल गरिएको  छ ।झन्डै २ हजारको सङ्ख्यामा स्थानान्तरण भएको प्रहरीले जनाएको छ ।

नारायणी नदीमा पटक(पटक बाँध फुट्ने र डुबानको समस्या झेल्दै आएका सुस्तावासी पुनः नदीमा बाढीको बहाव बढेपछि त्रसित बनेका छन्।

स्थिति जोखिमपूर्ण बन्दै गएपछि सुस्ता गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । पानीको वेग कम हुँदै गएको र सुस्ता सम्म आइपुग्दा पानीको बहाव कम हुन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button