तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा तीन वर्षदेखि अलपत्र विद्युत् विस्तार, पुर्चौडीका स्थानीय आक्रोशित

बैतडी।बैतडीको पुर्चौडी नगरपालिकामा विद्युत् विस्तारको काम सुरु भएको तीन वर्ष बितिसक्दा पनि स्थानीयवासीले विद्युत् सेवा पाउन सकेका छैनन्। नेपाल विद्युत् प्राधिकरणसँग ठेक्का सम्झौता गरी एआईबी परियोजनाले विद्युत् विस्तारको काम सुरु गरे पनि विद्युत् वितरण केन्द्र बैतडीको लापरबाही र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अलपत्र परेको स्थानीयको आरोप छ।

विद्युत् विस्तारका लागि आवश्यक पोल तथा तार गाउँमा ल्याएर काम सुरु गरिए पनि लामो समयदेखि आयोजना अघि बढ्न सकेको छैन। ल्याइएका पोल तथा तार पुर्चौडीका विभिन्न स्थानमा अस्तव्यस्त अवस्थामा छन्। कतिपय पोल निर्धारित स्थानमा गाडिनुको सट्टा बाटोमै राखिएका छन् भने तार तथा अन्य सामग्री खुला ठाउँमा अलपत्र छाडिएका छन्।

पुर्चौडी नगरपालिकाका सब–इन्जिनियर रिगेश धानुकका अनुसार विद्युत् विस्तारका लागि ल्याइएका पोल झाडी तथा बाटोछेउमा थुपारिएका छन्। विद्युत्का तारका ठूला रीलसमेत लामो समयदेखि खुला ठाउँमा अव्यवस्थित रूपमा छाडिएका छन्।

स्थानीयका अनुसार केही स्थानमा पोल गाड्ने काम भए पनि कतिपय ठाउँमा पोल तथा तार जडानको काम अधुरै छ। आवश्यक वायरिङ तथा विद्युत् जडानको काम पूरा नहुँदा आयोजना सम्पन्न हुन सकेको छैन।

वर्षौंदेखि विद्युत् विस्तारको काम भइरहेको भनिए पनि सेवा सञ्चालन हुन नसक्दा स्थानीयवासी समस्यामा परेका छन्। विद्युत् सेवा कहिले सञ्चालन हुन्छ भन्नेबारे आफूहरू अन्योलमा रहेको स्थानीय लक्ष्मण बोहराले बताउनुभयो।

लामो समयदेखि पोल र तार अलपत्र अवस्थामा राखिए पनि बत्ती बल्न नसकेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायले तत्काल अनुगमन गरी काम अघि बढाउन माग गरेका छन्। बाटोमा रहेका पोल तथा तार सुरक्षित र निर्धारित स्थानमा व्यवस्थापन गर्न, बाँकी संरचना निर्माण तथा जडान पूरा गर्न र आवश्यक वायरिङ सम्पन्न गरी यथाशीघ्र विद्युत् सेवा सञ्चालन गर्न उनीहरूले आग्रह गरेका छन्।

नगरपालिकाका सब–इन्जिनियर धानुकले ग्रामीण क्षेत्रमा विद्युत् पहुँच विस्तार विकासको महत्वपूर्ण आधार भए पनि निर्माण सामग्री वर्षौंसम्म अलपत्र छाडिनु र आयोजना सम्पन्न नहुनुले सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठाएको बताउनुभयो।

स्थानीयवासीले विद्युत् विस्तारको वास्तविक अवस्था, काममा भएको ढिलाइको कारण र जिम्मेवार पक्षबारे छानबिन गरी तत्काल काम अघि बढाउन माग गरेका छन्।

यता, विद्युत् वितरण केन्द्र बैतडीले भने विद्युत् विस्तारमा भएको ढिलाइबारे कार्यालयलाई जानकारी नभएको जनाएको छ। एआईबी परियोजनाले काम गरिरहेको बताउँदै केन्द्रले विद्युत् विस्तारको अवस्थाबारे थप बुझ्ने प्रतिक्रिया दिएको छ।

एआईबी परियोजनाका प्रतिनिधि माध्याब न्यौपाने भने विद्युत् विस्तारको काम अलपत्र छाडेर सम्पर्कविहीन रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button