ताल्चा विमानस्थलको पानीले आवतजावतमा सास्ती, खेतीयोग्य जमिन कटानको जोखिम बढ्दै
मुगु । ताल्चा विमानस्थलबाट निस्कने पानीको उचित व्यवस्थापन नहुँदा वर्षायाममा बुकाखोलाको बहाव बढेर स्थानीयवासीलाई आवतजावतमा सास्ती हुने गरेको छ। पानीको बहावले सडक तथा पैदलमार्ग कटान गर्दा छायानाथ रारा नगरपालिकाका विभिन्न ११ वटा बस्ती प्रभावित भएका छन्।
छायानाथ रारा नगरपालिका–४ का स्थानीय समाजसेवी नन्दबहादुर रोकायाका अनुसार ११ वटा बस्तीमा आवतजावत गर्ने मुख्य बाटो बुकाखोला क्षेत्र हुँदै जाने भएकाले वर्षायाममा खोला वारपार गर्न समस्या हुने गरेको छ। पानीको बहावले बाटो कटान गर्दा ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थी बढी प्रभावित हुने उहाँले बताउनुभयो।
“हरेक वर्ष वर्षायाममा बुकाखोलाको पानीको बहाव बढेर बाटो कटान हुन्छ। ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई खोला वारपार गर्न निकै समस्या हुन्छ,” रोकायाले भन्नुभयो।
छायानाथ रारा नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मी भामका अनुसार भामवडा, रावलवाडा र सेजुवालवाडाका ३९२ घरधुरी बाढी तथा कटानबाट प्रभावित भएका छन्। ताल्चादेखि भट्टेचौरसम्मको एक सय हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाढीले कटान गरेपछि स्थानीयवासी समस्यामा परेका छन्।
ताल्चा र कालपाल्त आसपासका करिब २० घरसमेत बाढीको बहावका कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भामले बताउनुभयो।
स्थानीय प्रेमबहादुर भामका अनुसार ताल्चा विमानस्थलदेखि भट्टेचौरसम्म पानीको उचित निकास तथा व्यवस्थापन नहुँदा हरेक वर्ष खेतीयोग्य जमिन कटान हुँदै आएको छ। खेतीयोग्य जमिन नै बाढीले बगाउन थालेपछि परिवार पाल्न स्थानीयवासी छिमेकी जिल्ला तथा भारतमा मजदुरी गर्न जानुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।
“विमानस्थलबाट बग्ने पानीले हरेक वर्ष ३० देखि ५० मिटरसम्म जमिन कटान गर्दै आएको छ। निरन्तर कटान भइरहेकाले आसपासका बस्ती र रारा ताल क्षेत्रसमेत जोखिममा पर्न सक्छ,” भामले भन्नुभयो।
गत बुधबार ताल्चा विमानस्थलबाट आएको पानीले एक रोपनी खेतमा लगाइएको धानबालीसहित खेत नै बगाएको स्थानीय रामलाल कामीले बताउनुभयो। उहाँका अनुसार उक्त खेतबाट करिब दुई बोरा धान उत्पादन हुने गरेको थियो।
“खेत बाढीले लैजाँदा घरबाट टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प भएन। यो वर्ष त भोकमरी नै हुने भयो, अर्को वर्ष खेती गर्ने जमिनसमेत रहेन। म लगायत मेरा छिमेकीलाई बाढीले सुकुम्बासी बनाइदियो,” कामीले भन्नुभयो।
यता नागरिक उड्डयन प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले ताल्चा विमानस्थल परिसरभित्र मात्र पानीको निकास तथा व्यवस्थापन गरिएको बताउनुभयो। विमानस्थल क्षेत्रभन्दा बाहिरको पानी व्यवस्थापन गर्ने जिम्मेवारी विमानस्थलको नरहेको उहाँको भनाइ छ।
“विमानस्थल परिसरमा पानीको नहर तथा निकास व्यवस्थापन गरिएको छ। उक्त क्षेत्रभन्दा बाहिरको पानी व्यवस्थापन गर्ने नीति छैन। सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ,” नेपालीले भन्नुभयो।
ताल्चा विमानस्थलबाट बग्ने पानीका कारण स्थानीयवासीको लाखौँ रुपैयाँ बराबरको खेतीयोग्य जमिन कटान भइसकेको छ। पानीको दीर्घकालीन व्यवस्थापनका लागि विमानस्थल, स्थानीय तह र प्रदेश सरकारले ठोस योजना ल्याउन नसकेको स्थानीयवासीको गुनासो छ।
बाढी तथा कटानका कारण खेतीयोग्य जमिन निरन्तर घट्दै गएपछि स्थानीयवासीको जीविकोपार्जनमा समेत असर परेको छ। समयमै पानीको उचित निकास, तटबन्ध र दीर्घकालीन व्यवस्थापनका काम अघि नबढाए थप खेतीयोग्य जमिन तथा बस्ती जोखिममा पर्न सक्ने स्थानीयवासीको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्