थोपा सिँचाइप्रति किसानको आकर्षण बढ्दो
डडेल्धुरा । जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुनु र उत्पादन लागत बढ्दै जाँदा डडेल्धुराका किसान आधुनिक सिँचाइ प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।
विशेष गरी व्यावसायिक कृषि गर्ने किसानहरू थोपा सिँचाइ प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने तयारीमा जुटेका छन् ।

थोपा–थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने यो प्रविधिले कम पानीमै बढी उत्पादन लिन सकिने भएकाले जिल्लाका व्यावसायिक किसानको रोजाइमा पर्न थालेको हो । परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने साथै थोपा सिँचाइ श्रम र समयको समेत बचत हुने भएकाले आधुनिक खेती गर्ने किसानहरू यसको प्रयोगमा उत्साहित देखिएका छन् । अमरगढी नगरपालिका–१ डोलाका किसान पदमबहादुर ऐरले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् ।
उनले बिउ आलु उत्पादनसम्बन्धी तालिम लिएर व्यावसायिक खेती सुरु गरेका हुन् । यस वर्ष उनले ७ सय ४० क्विन्टल बिउ आलु उत्पादन गरे । कृषि ज्ञान केन्द्र र आलु सुपर जोन कार्यक्रमबाट विभिन्न प्रकारको सहयोग पाएका ऐरले उत्पादनलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थोपा सिँचाइ प्रविधि अपनाउने योजना बनाएको बताए ।
अमरगढीकै अर्का व्यावसायिक किसान प्रिन्सराज अवस्थीले पनि ठूलो परिमाणमा आलु उत्पादन गर्दै आएका छन् । उनले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरिएको चक्लाबन्दीमा आलु र उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित उनी व्यावसायिक आलु खेतीमा सक्रिय छन् ।
अमरगढी नगरपालिका–९ का कमलसिंह झुकाल भने शिक्षण पेसाबाट अवकाश लिएपछि पूर्णकालीन रूपमा कृषिमा लागेका छन् । उनी हरेक वर्ष कृषि ज्ञान केन्द्रले सार्वजनिक गर्ने कार्यक्रमअनुसार आवेदन दिएर विभिन्न सहयोग लिँदै आएका छन् । गत वर्ष उनले केन्द्रबाट मल्चिङ र थोपा सिँचाइ कार्यक्रमअन्तर्गत सहयोग प्राप्त गरेका थिए ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पीताम्बर बस्नेतका अनुसार किसान उद्यमशीलता कार्यक्रमअन्तर्गत प्लास्टिक घर (टनेल) भित्र थोपा सिँचाइ प्रणाली जडानका लागि किसानलाई सहयोग गर्दै आइएको छ । यस कार्यक्रममार्फत व्यावसायिक तरकारी खेती गर्ने किसानलाई आधुनिक सिँचाइ प्रविधि अपनाउन प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत उन्नत जातको बिउमा अनुदान, कृषि यान्त्रिकीकरण, साना सिँचाइ आयोजना तथा बिउ आलु उत्पादन गर्ने किसानलाई कोल्ड स्टोरमा भण्डारणका लागि समेत अनुदान उपलब्ध गराइँदै आएको छ ।
डडेल्धुरामा हाल १ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । पछिल्ला वर्षमा बिउ आलु उत्पादनमा जिल्लाले पहिचान बनाउँदै गएको अवस्थामा आधुनिक सिँचाइ, कृषि यान्त्रिकीकरण र उन्नत प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादन वृद्धि मात्र नभई किसानको आम्दानी समेत बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्