‘ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक २०८१ का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले देशभरी सञ्चालनमा रहेका तीन हजारभन्दा बढी होटेलहरू अझैपनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाइ हटाउनुपर्ने समितिलाई जानकारी गराउनुभयो ।
मन्त्री पौडेलले जिम्मेवारी र साहसिक पर्यटन गतिविधिलाई अझ व्यवस्थित बनाउनुपर्ने पनि टड्कारो आवश्यकता रहेको बताउनुभयो ।
समितिको बैठकमा सदस्यहरुले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ सञ्चार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
सांसद जगदीश खरेलले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोडिएकाले यसलाई जति सक्दो छिटो कानुनी रूप दिनुपर्ने बताउनुभयो ।
सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष समेत समेट्ने गरी विधेयक ल्याइनुपर्ने धारणा राख्नुभयो ।
सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहुसांस्कृतिक सङ्ग्रहालयको अवधारणा समेट्न सुझाव दिनुभयो ।
सांसद अनुश्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलकै चरणमै सरोकारवालाबिच पर्याप्त छलफल चलाएर सुझाव लिन सल्लाह दिनुभयो ।
प्रतिनिधिसभा सदस्य बिना गुरुङ, डा अर्जुनकुमार कार्की, श्रीधर पोखरेल लगायतले युग सुहाउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विधेयकलाई प्रभावकारी र गुणस्तरीय तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्