तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोष्टर सार्वजनिक: क्राइम थ्रिलर कथामा प्रियङ्काको मुख्य भूमिका

काठमाडौँ I आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रतिक्षित चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ।

केही समयअघि अभिनेत्री प्रियङ्का कार्कीको एकल पोष्टरले दर्शकमाझ राम्रो चर्चा पाएपछि निर्माण टिमले थप दुई फरक शैलीका पोष्टरहरू सार्वजनिक गरेको हो।

यदि तपाईँले सार्वजनिक पहिलो पोष्टर हेर्नुभयो भने, त्यसमा अभिनेत्री प्रियङ्का कार्की र सिम्रन खड्का भावुक मुद्रामा प्रस्तुत हुनुभएको देख्न सक्नुहुन्छ। पोष्टरमा प्रियङ्काको अँगालोमा सिम्रन हुनुहुन्छ, जसले चलचित्रमा आमा-छोरीको भावनात्मक कथा र सम्बन्धलाई दर्शाउँछ।

त्यस्तै दोस्रो पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकारहरू प्रियङ्का कार्की, प्रमोद अग्रहरी र सिम्रन खड्का देखिनुभएको छ। पोष्टरमा नेपाल प्रहरीले अपराध घटनास्थलमा प्रयोग गर्ने ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ को टेप र पृष्ठभूमिमा हराएका व्यक्तिहरूको तस्बिर समावेश गरिएको छ, जसले कुनै गम्भीर अपराध र प्रहरी अनुसन्धानको सङ्केत गर्छ। पोष्टरमा लेखिएको ट्यागलाइन “उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्” ले छोरी बचाउन आमाले गर्ने सङ्घर्षलाई प्रस्ट पार्दै चलचित्र ‘क्राइम थ्रिलर’ जनरामा बनेको कुरा तपाईँलाई प्रस्ट पार्छ।

शुभम घोषको निर्देशनमा बनेको यस चलचित्रमा प्रियङ्का कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान् जोशी र प्रनित कार्कीको लगानी (निर्माण) रहेको छ। चलचित्रका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुनुहुन्छ भने सिमोस सुनुवार क्रिएटिभ निर्माताको रूपमा रहनुभएको छ।

चलचित्रको मूल कथा प्रियङ्का कार्की स्वयंले लेख्नुभएको हो भने पटकथा शान बस्नेतले तयार पार्नुभएको हो। संवाद लेखनमा प्रियङ्का र शान दुवैको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको यस चलचित्रमा प्रियङ्काका साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्ले लगायतका कलाकारहरूको अभिनय तपाईँले देख्न पाउनुहुनेछ।

नेपालीसहित अन्य भाषाहरूमा समेत एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्र आगामी भदौ ५ गतेबाट देशभरका सिनेमाघरमा रिलिज हुँदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button