तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक महिना जिल्ला आउँछु, जनताको मतको सधैँ सम्मान गर्छु: गृहमन्त्री गुरुङ

गोरखा। गोरखा निर्वाचन क्षेत्र नम्बर १ का सांसद एवं गृहमन्त्री सुधन गुरुङले आफू प्रत्येक महिना जिल्ला आउने बताउनुभएको छ। 

गोरखा नगरपालिकाभित्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूसँगको भेटघाटमा मन्त्री गुरुङले उक्त प्रतिबद्धता जनाउनुभएको हो।

कार्यकर्ताहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रका पालिकाहरूमा पुग्ने गरी म प्रत्येक महिना जिल्ला आउनेछु। स्थानीय तहका समस्याहरूलाई नजिकबाट बुझेर तिनको समाधानका लागि पहल गर्नेछु। जनताले दिएको मतको म सधैँ सम्मान गर्छु, तपाईँहरूले आफ्ना समस्या र आवश्यकताहरू राख्दै जानुहोला।”

आफ्नो निर्वाचन क्षेत्रको कामकारबाहीलाई व्यवस्थित बनाउन गोरखामा सचिवालय स्थापना गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो। “सचिवालय राख्नका लागि घरसमेत हेरिसकेको छु,” मन्त्री गुरुङले भन्नुभयो, “आफ्ना समस्या वा गुनासाहरू सचिवालयमार्फत राख्न म सबैमा अनुरोध गर्दछु।”

तीन दिनदेखि गोरखा भ्रमणमा रहनुभएका मन्त्री गुरुङले जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्नुका साथै विभिन्न विकास योजनाहरूको निरीक्षणसमेत गर्नुभएको छ। उहाँले गोरखा नगरपालिका वडा नम्बर ७ मा निर्माणाधीन बहुउद्देश्यीय सभाहलको निरीक्षण गर्नुभयो।

यस्तै, गोरखा अस्पतालको निरीक्षण गर्दै मन्त्री गुरुङले अस्पतालको स्तरोन्नति आवश्यक रहेको बताउनुभयो। उहाँले अस्पतालका लागि आवश्यक यन्त्र-उपकरणहरू तत्काल उपलब्ध गराउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो। सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष कृष्णप्रसाद ढकालले अस्पतालका समस्या र मागहरू समेटिएको लिखित पत्र गृहमन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button