प्रयोगमा आएन रेउघा बसपार्क, यातायात व्यवसायीको असहयोग : सञ्चालनका लागि नगरपालिकाको प्रयास जारी
रोल्पा । रोल्पा नगरपालिका–२ रेउघामा करिब १० करोड रुपैयाँको लागतमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न बसपार्क उद्घाटन भएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
गत वैशाख १४ गते धुमधामका साथ उद्घाटन गरिएको उक्त बसपार्कमा हालसम्म कुनै पनि बस, जिपलगायत सार्वजनिक सवारीसाधन पार्किङका लागि पुगेका छैनन्।
बसपार्कमा पार्किङ क्षेत्र, कार्यालय भवन, शौचालय, टिकट काउन्टर तथा व्यवस्थित सडकलगायत पूर्वाधार निर्माण गरिए पनि यातायात व्यवसायीको असहयोगका कारण सञ्चालन हुन नसकेको नगरपालिकाको भनाइ छ। नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याउन आवश्यक पहल भने निरन्तर जारी राखेको जनाएको छ।
नगरप्रमुख सुरेन्द्र थापा घर्तीले यातायात व्यवसायीसँग पटक–पटक छलफल गरी सहमतिपछि मात्रै बसपार्क उद्घाटन तथा हस्तान्तरण गरिएको बताउनुभयो।
उहाँका अनुसार जिल्लाका चारवटा यातायात कम्पनीका प्रतिनिधि तथा पदाधिकारीसँग पटक–पटक सकारात्मक छलफल भएको थियो र सहमतिका आधारमा बसपार्क सञ्चालन गर्ने निर्णयसमेत गरिएको थियो। तर, कार्यान्वयनका क्रममा समस्या देखिएको उहाँको भनाइ छ।
‘यातायात व्यवसायीबाट सहयोग हुनुपर्नेमा अपेक्षित सहयोग हुन सकेको छैन,’ नगरप्रमुख घर्तीले भन्नुभयो, ‘सदरमुकाम लिबाङ बजार क्षेत्रमा सवारीसाधन जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढेपछि त्यसलाई व्यवस्थित गर्न नगरपालिकाले नयाँ बसपार्क निर्माण गरेको हो।
रोल्पामा बस सेवा सञ्चालन गर्ने रोल्पा जलजला यातायात प्रालि र नमस्ते आशीर्वाद सेवा प्रालिका साथै जिप सेवा सञ्चालन गर्ने हिमताल यातायात प्रालि र जलजला हिमाल यातायात प्रालिसहित चारवटा यातायात कम्पनी सञ्चालनमा छन्।
तीमध्ये रोल्पा जलजला यातायात प्रालि र नमस्ते आशीर्वाद सेवा प्रालिले आफ्नै लगानीमा निजी बसपार्क निर्माण गरी सदरमुकाम लिबाङमै आफ्ना सवारीसाधन पार्किङ गर्दै आएका छन्।








प्रतिक्रिया राख्नुहोस्