लामखुट्टे धपाउन बालेको धुनीबाट गोठमा आगलागी, नौ चौपाया जलेर मरे
गोरखा। गोरखाको भीमसेनथापा गाउँपालिका–२, काउलेमा आगलागी हुँदा ९ वटा चौपाया जली मरेका छन्।
स्थानीय झण्डबहादुर लामिछानेको गोठमा लामखुट्टे धपाउन बालिएको धुनी (आगो) बाट अचानक सल्किएर आगलागी भएको हो।
प्रहरीका अनुसार लामिछानेले आफ्नो घरभन्दा करिब साढे दुई किलोमिटर टाढा रहेको काठ र जस्ताले छाएको गोठमा लामखुट्टे भगाउन धुनी बालेका थिए। आगो निभाएको ठानेर उनी घरमा सुत्न गएका थिए। तर, राति चलेको हावाहुरीका कारण सोही धुनीबाट आगो पुनः सल्किएर गोठभरि फैलिएको थियो।
आगलागीमा परी गोठमा बाँधिएका १ वटा भैँसी, १ वटा पाडो, ४ वटा बाख्रा र ३ वटा बोका गरी ९ वटा चौपायाको पूर्ण रूपमा जलेर मृत्यु भएको छ। घटना राति करिब २ बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। आगलागीबाट गोठ पूर्ण रूपमा नष्ट भएको छ भने क्षतिको थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्