तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीविहीन बोगटानको पल्चौर स्वास्थ्य केन्द्र: सामान्य ओखतीमूलो पाउन पनि तीन घण्टाको पैदल यात्रा

डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ स्थित पल्चौर सामुदायिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि स्वास्थ्यकर्मीविहीन बनेको छ।

दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य केन्द्र लामो समयदेखि बन्द हुँदा स्थानीय बासिन्दा आधारभूत स्वास्थ्य अधिकारबाट पूर्ण रूपमा वञ्चित भएका छन्।

एक चक्की सिटामोलका लागि तीन घण्टाको सास्ती
स्वास्थ्य केन्द्रमा कर्मचारी नहुँदा अहिले सामान्य ज्वरोको ओखतीमूलो लिन समेत स्थानीयवासीलाई ठुलो सास्ती भएको छ। सिटामोलका लागिसमेत करिब तीन घण्टा पैदल हिँडेर कानाचौर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन्। भौगोलिक रूपमा विकट र यातायातको पहुँच नभएको यस क्षेत्रमा स्वास्थ्य सेवा ठप्प हुँदा सबैभन्दा बढी मारमा बिरामी, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बालबालिकाहरू परेका छन्।

जनप्रतिनिधि र पालिकाको उदासीनता
स्थानीयका अनुसार स्वास्थ्य केन्द्र सञ्चालनका लागि वडा कार्यालय, गाउँपालिका र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन। स्थानीय नरेन्द्र क्षेत्रीले स्वास्थ्यजस्तो अत्यावश्यक सेवामा देखिएको समस्या तत्काल समाधान गरी नियमित सेवा सञ्चालन गर्न माग गरेका छन्।

अछामको सीमावर्ती विकट क्षेत्र पल्चौरमा स्वास्थ्य सेवासँगै सडक, सञ्चार, विद्युत् र खानेपानीजस्ता आधारभूत सुविधाको समेत अभाव रहेको स्थानीयको भनाइ छ। पानीका मुहान सुक्दै जाँदा टाढाबाट ल्याइएको पाइपलाइनबाट पनि नियमित खानेपानी उपलब्ध हुन नसकेको उनीहरूले बताएका छन्।

वडा न-३ का अध्यक्ष कृष्ण बमले स्वास्थ्यकर्मी व्यवस्थापनका लागि विगत छ महिनादेखि गाउँपालिकासँग निरन्तर पहल भइरहेको भए पनि आवश्यक चासो नदिइएको बताउनुभयो। उहाँले विकट क्षेत्रमा स्वास्थ्यकर्मी टिकाउन चुनौती रहे पनि समस्या समाधानका लागि प्रयास जारी रहेको र छिट्टै कर्मचारी खटाइने बताउनुभयो।

यता, कानाचौर स्वास्थ्य चौकीका इन्चार्ज हस्त बुढाका अनुसार एक जना स्वास्थ्यकर्मीले जागिर छाडेका र अर्का एक जनाको सरुवा भएपछि पल्चौर स्वास्थ्य केन्द्रको सेवा बन्द भएको हो। पालिकाले नयाँ दरबन्दी सिर्जना नगरेकाले हालसम्म स्वास्थ्यकर्मी खटाउन नसकिएको उहाँले बताउनुभयो।

स्थानीयले विकट क्षेत्रका नागरिकको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य केन्द्रमा तत्काल स्वास्थ्यकर्मी खटाई नियमित सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button