साधन श्रोतको कमीले सडक सुरक्षामा कठिन : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा बढ्दो सवारी दुर्घटनाको न्यूनीकरणका लागि आफ्नै प्रहरी प्रशासन हुनुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री यादवले एसियाली विकास बैङ्क (एडिबी), राष्ट्रिय सडक सुरक्षा परिषद् नेपाल तथा मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशालाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले प्रदेश सरकारसँग प्रहरी प्रशासन तथा ठूला सडक सञ्चालनका लागि आवश्यक संरचना तथा संयन्त्रहरू नभएका कारणले सडकलाई पूर्ण सुरक्षित गर्नमा कठिनाइ भइरहेको बताउनुभयो ।
मुख्यमन्त्रीले अहिले प्रदेश सरकार संघीय सरकारको इकाई जस्तो काम मात्र गरेको भन्नुहुँदै संविधानले नै प्रदान गरेको अधिकारहरू हालसम्म प्रदेशलाई हस्तान्तरण नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट र अधिकार प्रदेशसँग नभएको भन्नुहुँदै प्रदेशहरूलाई अधिकार विहीन बनाएर राख्ने काम मात्र भएको बताउनुभयो ।
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना विस्तार अत्यावश्यक रहेकोले विद्यालय तहको पाठ्यक्रममा नै ट्राफिक विषयमा ज्ञान दिनुपर्ने बताउनुभयो ।
मधेश प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले सडक सुरक्षा सम्बन्धी विषयमा व्यापक छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रमाणमा आधारित नीति निर्माण, सडक संरचनामा सुधार तथा समन्वय र सहकार्यमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले ट्राफिक प्रहरीलाई प्रभावकारी रूपमा जिम्मेवारी दिनुपर्ने धारणा राख्दै पर्याप्त बजेट र अधिकारबिना ट्राफिक व्यवस्थापन सुदृढ हुन नसकेर सडक दुर्घटना हुने गरेको बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय मधेशका सचिव ओमराज ढुङ्गानाले सडक सुरक्षामा सुधारका लागि सबै सरोकारवाला निकायबीच सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्