झापाका अधिकांश चिया कारखाना र बगान आजदेखि बन्द
झापा I नेपाली चिया निकासीमा भारतीय अवरोधका कारण उत्पन्न समस्या समाधान हुन नसक्दा झापाका अधिकांश चिया उद्योग तथा चिया बगान आजदेखि पूर्ण रुपमा बन्द भएका छन् ।

मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएकोले निजी क्षेत्रबाट सञ्चालित झापाका चिया उद्योग तथा बगान बन्द गरिएको नेपाल चिया उत्पादक सङ्घले जनाएको छ ।
सङ्घले हिजो बुधबार झापा उद्योग सङ्घको सभाहलमा पत्रकार सम्मेलन गरी भारतीय अवरोधका कारण नेपाली चिया निकासीमा ठूलो संकट आएको उल्लेख गर्दै भारतीय पक्षको सर्तहरू पूरा गर्न नसकिने भएकोले बाध्य भएर उद्योग बन्द गर्ने निर्णयमा पुग्नुपरेको बताएको थियो ।
भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको बताउँदै संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीले विभिन्न प्रकारका गुणस्तर परीक्षण, जटिल प्रक्रिया तथा भण्डारणसम्बन्धी व्यवस्थाका कारण नेपालबाट भारततर्फ चिया निकासी हुन नसक्ने अवस्था आएकोले बाध्यात्मक अवस्थामा उद्योग बन्द गर्नुपरेको बताउनुभयो ।
वैशाखको दोस्रो सातादेखि नेपाली चिया क्षेत्रमा आएको यो संकट समाधानका लागि कतैबाट पनि ठोस पहल नभएको र अब उद्योग धान्न नसक्ने अवस्थामा पुगेकोले बन्द गर्नुपरेको संघका महासचिव शुक्रबहादुर दाहालले जानकारी दिनुभयो ।
झापामा निजी क्षेत्रबाट सञ्चालित दुई दर्जन बढी चिया प्रशोधन कारखाना र त्यतिकै सङ्ख्यामा ठूला चिया बगान रहेका छन् ।
झापामा केही सरकारी र सहकारी संस्थाद्वारा सञ्चालित कारखाना र चिया बगान भने आंशिक रुपमा सञ्चालनमा रहेको बुझिएको छ ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबर रहेको छ । यसमा करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुन्छ । बाँकी केही नेपालमा खपत हुन्छ भने केही चिया तेस्रो मुलुक निकासी हुने गरेको छ ।
झापामा चिया उद्योगले करिब ६० हजार कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको अध्यक्ष पराजुलीको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्