तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो करिब पौने १ बजेको समयमा गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनको ढाड तथा अण्डकोषमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते महरालाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याई प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। तर उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल गौर पठाइएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनामा संलग्न ट्र्याक्टर र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button