तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारतका सीमा अधिकारीको बैठक जनकपुरधाममा सम्पन्न 

जनकपुरधाम । नेपाल–भारत सीमा तथा फिल्ड सर्भे टिमको जनकपुरधाममा आज सम्पन्न भएको बैठकले सीमा क्षेत्रको पिलरहरू सुधारमा भएको प्रगतिको समीक्षा गरेको छ । 

नेपाल र भारतका सीमावर्ती क्षेत्रका जिल्लाहरूको उच्च अधिकारीको सहभागितामा भएको संयुक्त बैठकमा विभिन्न कारणले भत्केको वा हराएको सीमा स्तम्भहरूको मरम्मत तथा नयाँ निर्माण सम्बन्धि विवरण प्रस्तुत गरिएको हो । 

बैठकमा सीमा क्षेत्रमा भएका मुख्य पिलर तथा सहायक पिलर गरेर नेपाली पक्षले २८ वटा मरम्मत गरेको छ भने भारतले २९ वटाको मरम्मत गरेको नेपालको तर्फबाट नेतृत्व गर्नुभएका सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसै गरि सीमा क्षेत्रमा विभिन्न कारणले पूर्ण रुपमा समाप्त भएर हराएका १२ वटा पिलरको नेपाली पक्षले पुनः निर्माण गर्नुका साथै यस अवधिमा भारतीय पक्षबाट ३ वटाको पुनः निर्माण गर्ने काम भएको उहाँले जानकारी दिनुभयो ।  

बैठकमा भारतको इस्ट चम्पारन, वेस्ट चम्पारन, सुपौल, मधुबनी र सीतामढी जिल्लाका डिष्ट्रीक मजिस्ट्रेट (डिएम) र नेपालका तर्फबाट धनुषा, महोत्तरी, पर्सा, सिरहा र सप्तरी जिलाका प्रमुख जिल्ला अधिकारीहरू तथा दुवै देशका जिल्ला सुरक्षा प्रमुखहरू, नापी प्रमुखहरू, डिभिजन बनका प्रमुखहरू, पूर्वाधार कार्यालयका प्रमुखहरू जिल्ला, विभाग र वाणिज्य दूतावासका अधिकारीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button