तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटनबाट तल्लो वर्गले समेत फाइदा लिन सक्ने विषयमा बजेटले जोड दिएको छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री पौडेलले मन्त्रालयले समानता र सम न्यायिक रुपमा काम गर्ने गरी विनियोजनमा ध्यान दिएको स्पष्ट पार्नुभयो ।

मन्त्री पौडेलले कृषि शिक्षा लगायतका क्षेत्रसँग पर्यटनलाई जोड्ने, आर्थिक उन्नयन गरी असमानता अन्त्य गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो । 

मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम शुरु गरेको जानकारी गराउँदै राष्ट्रिय संस्कृति नीतिको प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको र आवश्यक ऐन निर्माणको काम भइरहेको बताउनुभयो ।

उहाँले देशभर रहेका सबै पर्यटकीय पदमार्ग जोड्ने गरी कार्यविधि बनाएर काम शुरु गरेको तथा ८० करोड भन्दा बढी रकम पदमार्ग तथा सांस्कृतिक ऐतिहासिक महत्वका क्षेत्रहरूको संरक्षणमा राखेको बताउनुभयो ।

मन्त्री पौडेलले नेपाल वायु सेवा निगमको ६५ अर्ब भन्दा बढीको ऋण रहेको, वर्षेनी २ अर्बभन्दा बढीको ऋण थपिने गरेको तथा दुरावस्थामा रहेकाले यसको सुदृढीकरणका लागि राष्ट्रिय बहस मार्फत वायुसेवा निगमको पुनर्जीवन दिने गरी काम अगाडी बढाउन लागेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button