प्रतिनिधिसभा बैठक: प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधदेखि बजेट छलफल र समसामयिक मुद्दामा सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकको सुरुमा उठेर विरोध गर्दै प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याइनुपर्ने वा संसद्को रेकर्डबाट हटाउन माग गर्दै सदनमा विरोध जारी राखेको बताउनुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले नेपाली भूमि सुस्तालगायत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले दुख दिएको, चिया निर्यातमा भारतको अवरोध लगायतका समस्या समाधानका लागि कूटनीतिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
सांसदहरुले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूले गरेको गल्ती लुकाउन अरूलाई धम्की दिएको भन्दै कर छलिका विषयमा अनुसन्धान गर्न र गृहमन्त्री सुदन गुरुङको विषयमा भएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो
बैठकको आकस्मिक समयमा सांसदहरुले मनसुन शुरु हुन लागेकाले मौसम र विपद्को पूर्व अनुमान र सरकारले प्रतिकार्य, राहत तथा उद्धारका लागि गरिरहेको कार्यका विषयमा सदनमा जानकारी गराउन माग गर्नुभयो ।
सांसदहरु स्कुल, क्याम्पस पढ्ने युवाहरू लागुऔषधको दुर्व्यसनमा फस्दै गएको तथा कडा लागु पदार्थ प्रयोग गर्ने र दुर्व्यसनीको संख्या बढ्दै गएको भन्दै यसतर्फ समयमा नै ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विभिन्न विनियोजन शिर्षकहरुमाथिको छलफल जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्