तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा देशकै उत्कृष्ट

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । सेकेण्डरी ’बी’ लेभलका अस्पतालहरूमध्ये हेटौँडा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गर्दै देशकै प्रथम भएको हो । 

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित ’न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिट मापन’ मा सेकेण्डरी ’बी’ लेभलका अस्पतालहरूमध्ये हेटौँडा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गरेको अस्पताल व्यवस्थापन समितका सदस्य एवम् प्रवक्ता उत्सव चौलागाईले जानकारी दिनुभयो । सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरूको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा हरेक वर्ष न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो वर्ष पनि देशभरका अस्पतालहरूमा गरिएको मूल्याङ्कनमा सेकेण्डरी ’बी’ लेभलका अस्पतालहरू मध्ये हेटौँडा अस्पतालले सबै भन्दा बढी ९५ प्रतिशत अङ्क ल्याएको उहाँले बताउनुभयो । 

प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पछिल्लो प्रतिवेदन अनुसार बागमती प्रदेशका अन्य मुख्य सेकेण्डरी ’बी’ लेभलका अस्पतालहरूमध्ये भक्तपुर अस्पताल ९३ प्रतिशत अङ्कसहित दोस्रो र त्रिशूली अस्पताल ८६ प्रतिशत अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । यसैगरी धादिङ अस्पतालले ८० प्रतिशत, सिन्धुली अस्पतालले ७५ प्रतिशत र बकुलहर रत्ननगर अस्पतालले ७१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

कार्यसम्पादन मापनको निर्देशिका अनुसार ८६ प्रतिशतदेखि १०० प्रतिशत अंक ल्याउने संस्थालाई ’उच्च गुणस्तरीय सेवा’ प्रदान गर्ने अस्पतालका रूपमा वर्गीकरण गरिन्छ । बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गरेपश्चात् सेकेण्डरी ’बी’ समूह अन्तर्गत गरिएको यो दोस्रो मूल्याङ्कन हो । 

अस्पतालले आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै आधुनिक उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण स्वास्थ्य सेवाको गुणस्तरमा ठूलो फड्को मारेको उहाँले जानकारी दिनुभयो । गुणस्तरीय सेवामा आफूहरू निरन्तर लागि रहेको भन्दै उहाँले अस्पतालको सिङ्गो टिम निरन्तर सेवा सुधारमा लागेकै कारण पनि यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button