तपाईँ सुन्दै हुनुहुन्छः

मनसुन, सडक सुरक्षा र सूचना सञ्चार सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बिबिसी मिडिया एक्सनको सहयोगमा आज मनसुन, सडक सुरक्षा र सूचना सञ्चार सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

रेडियो नेपालको केन्द्रिय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तरक्रियामा सहभागीहरूले मनसुनको समयमा सडक दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरोकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

अन्तरक्रियामा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरिक्षक कमल बहादुर अधिकारीले नेपालमा भौगोलिक, प्राकृतिक तथा सचेतनाको अभावका विपद्जन्य दुर्घटनामा मानवीय क्षति हुने गरेकोले प्रभावकारी रुपमा सामुदायिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै  प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले सडक दुर्घटनामा बढी युवा तथा आर्थिक उपार्जनमा सक्रिय जनशक्ति गुमाउनुपरेको भन्दै यसको रोकथामका लागि यात्रु, चालक र सरोकारवाला सबै पक्षको साझेदारी र सबल प्रयास आवश्यक रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता विभूति पोखरेलले विभागको रियल टाईम डेटालाई सडक दुर्घटना न्यूनीकरण जस्ता विपद्जन्य घटना रोक्न सूचना सञ्जालको रुपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो ।

नेपाल यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज सिटौलाले यात्रु सचेतना र पूर्व सूचना प्रणालीलाई बढी प्रभावकारी र प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले सबै प्रकारका दुर्घटनामा विना अध्ययन सवारी चालकलाई दोषारोपण गर्ने प्रवृत्तिलाई हटाइनुपर्ने भन्दै सडक दुर्घटना हुनुको यथोचित अध्ययन गरिनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा पठाओ नेपालका प्रबन्धक सुदिनमान ताम्राकारले मनसुन तथा विपदपूर्वका सूचनाहरू डिजिटल एप्सहरुमार्फत प्रवाह गर्न सकिने सुझाव राख्नुभयो ।

कार्यक्रममा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतले विपद्का घटना हुनुको कारणमध्ये ८० प्रतिशत मानवीय कारण रहेको र जसबाट सबैभन्दा बढी १५ देखि ३५ वर्ष उमेरका युवाहरू दुर्घटनामा पर्ने गरेको बताउनुभयो । 

उपसचिव महतले वार्षिक २५ सय बढी सवारी दुर्घटनाबाट कारण १८ सय बढीको ज्यान जाने तथ्याङ्कले देखाएको बताउनुभयो ।

तस्विर: मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button