‘जलवायु र पर्यटनका मुद्दा सँगसँगै उठाउनुपर्छ’
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगैसँगै राखेर सम्बोधन गरेको बताउनुभएको छ ।

जलवायु परिवर्तन र वातावरण विनाशले पर्यटनलाई असर पुर्याइरहेकाले यी मुद्दालाई सँगसँगै राखेर समाधन खोजिएको उहाँले बताउनुभयो । ‘जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन । पर्यटन र सम्पदा लगायतसँग जोडिएको छ’ उहाँले भन्नुभयो ।
विश्व वातावरण दिवसका सन्दर्भमा जलवायु न्याय र पर्यटन विकासमा केन्द्रित संस्था साथसाथैले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा सहभागी जलवायु विज्ञ तथा वातावरण विज्ञहरुले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्यापी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।
‘समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारा साथ मनाइएको वातावरण दिवसको अवसर पारी साथसाथैले हिमालय र वातावरण सम्मेलन २०२६ आयोजना गरेको हो ।
त्यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले जलवायु परिवर्तनको कारणले हिमाली क्षेत्रमा याक चौँरी पालन गर्ने खर्क, जीवनशैली र उत्पादकत्वमा असर पारेको बताउँदै त्यहाँका नागरिकहरूको जीवनस्तर उकास्नका लागि पर्यटन र कृषिमा सहयोग गरेर जीविकोपार्जनमा सहयोग पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालका सहायक राष्ट्रिय निर्देशक एवं जलवायु विज्ञ विजय सिंहले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो वायु प्रदूषण विश्वव्यापी चुनौतीका रुपमा देखापरेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बु पासाङ ल्हामु गाउँपालिकासहितको सहकार्यमा उक्त कन्क्लेभ भएको हो ।








प्रतिक्रिया राख्नुहोस्