बाराको त्रिवेणी स्पिनिङ धागो उद्योगमा भीषण आगलागी, १० करोड बढीको क्षति

वीरगंज । वीरगंज पथलैया औद्योगिक करीडोर अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका वाड नम्बर–९ छातापिप्रामा रहेको त्रिवेणी स्पिानिङ धागो उद्योगमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब १०ः४० बजे फ्याक्ट्रीभित्र विद्युत् तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी नं.१२ गण हेड क्वाटर कलैया बारा बाट स.प्र.उ. बिकास सिलवाल, इलाका प्रहरी कार्यालय सिमराबाट प्र.ना.उ.दिलीप क्षेत्री समेतको टोली तथा इलाका प्रहरी कार्यालय जितपुर, औद्योगिक सुरक्षा बेस जितपुरको टोली, स्थानीय बासिन्दा, उद्योगका मजदुर सहित १२ बटा दमकल प्रयोग गरी आगो दिउँसो १ बजे नियन्त्रणमा आएको बारा प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज र वीरगञ्ज महानगरपालिकाका, कोल्हवी नगरपालिका,सखुवा प्रसौनि गाउँपालिका पर्सा, नेपाली सेना रिपुमर्दन गण कलैया बारा,निजगढ न. पा, गढिमाई नगरपालिका,माइक्रो पोलिसियन वीरगन्ज पर्सा, श्री जंग गण नेपाली सेना पर्सा समेतको दमकल गरि जम्मा १२ ओटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।
आगलागीबाट आरसिसी वाल भएको टिनले छाएको ठुलो गोदाम पुर्णरुपमा जलेर नष्ट भएको छ भने गोदाममा रहेको १८० टन कपास समेत जलेर नष्ट भएको छ ।
त्यस्तै आगलागीबाट २ थान कन्डेन्सर मेसिन, एक थान एमबिओ मेसिन र एक थान मो मेशिन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएसँगै क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताउनु भयो ।
आगलागीबाट १० करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्