सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई मजबुद बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदैछ ।
सम्मेलनको शनिबार बिहान प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गर्ने तय भएको छ ।
उद्घाटन समारोहलाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ । यही जेठ २३ र २४ गते हुने सम्मेलनमा सहभागी हुन सभामुख अर्याल, अध्यक्ष दाहाल, उपसभामुख रूबी कुमारी र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा सङ्घीय संसद्का पदाधिकारी सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुगिसक्नुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
संसदीय अभ्यास र कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत हुने
शनिबार मध्याह्नपछि सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय’ तथा पूर्वसचिव डा सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिने कार्यक्रम छ ।
सम्मेलनका दौरान सङ्घीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर–व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा छलफल हुनेछ ।
‘टीकापुर घोषणापत्र’ जारी गर्ने
सम्मेलनले टीकापुर घोषणापत्र जारी गर्नेछ । सम्मेलनको दोस्रो दिन सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्ने र आवश्यक छलफलपछि पारित गरिनेछ ।
सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन तथा सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, विषयगत समितिका सभापति, सचिवलगायतको उपस्थित रहने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्