तपाईँ सुन्दै हुनुहुन्छः

सेती पुलको निर्माण समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पोखरा । नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेती नदीमाथि निर्माणाधीन सिग्नेचर पुल निर्माणको काममा कुनै पनि बहानाबाजी नगरी निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पृथ्वी चोकमा रहेको सेती नदीमाथि निर्माण भइरहेको पुलको प्रगति बुझ्न मन्त्री लम्साल आज( सोमबार) स्थलगत अवलोकनमा आउनुभएको थियो ।

स्थानीय अवरोधका कारण प्रभावित उत्तरतर्फको पुलको अवस्था निरीक्षण गर्दै उहाँले आयोजना सम्पन्न गर्न देखिएका समस्या तत्काल समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै निर्माण कम्पनीलाई अब थपिएको समय सीमाभित्र कुनै पनि बहाना बाजी नगरी सम्पन्न गर्न निर्देशन दिनुभयो । अवलोकनका क्रममा मन्त्री लम्सालले निर्माण व्यवसायीलाई ढिलासुस्ती नगर्न आग्रह गर्दै तोकिएको समय सीमाभित्र पुल निर्माण सम्पन्न गर्न अनुरोध गर्नुभयो । 

उहाँसँगै पर्यटन मन्त्री गणेश पौडेल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा आयोजना र निर्माण कम्पनीका प्रतिनिधिहरू समेत सहभागी रहेको थियो ।

आयोजनाको सरकारी तथ्याङ्क अनुसार हालसम्म पुल निर्माणको भौतिक प्रगति ६०.१४ प्रतिशत र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको छ । तर निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले भने समग्र आयोजनाको प्रगति करिब ७० प्रतिशत पुगेको दाबी गरेको छ । 

एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा निर्माण भइरहेको यो पुल नेपालकै नमूना ‘केबल–स्टेट’ अर्थात् सिग्नेचर पुलका रूपमा विकास भइरहेको छ । दुई वटै पुल १९०–१९० मिटर लम्बाइका हुनेछन् भने सवारीसाधन र पैदल यात्रु दुवैका लागि आधुनिक सुविधासहित निर्माण भइरहेका छन् । २०७९ साउन २६ गते सम्झौता भएको यो आयोजनाको निर्माण अवधि विभिन्न कारणले दुई पटक थप भइसकेको छ । संशोधित कार्यतालिका अनुसार आगामी २०८३ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button