तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेट

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको घनिष्ट सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । 

मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्‍याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताउनुभयो । 

राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । उहाँले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राख्नुभयो । भेटमा सरकारका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button