प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ ।
नेपाल र भारतको सीमानाका विषयमा प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो ।
सभाको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध सुरु गर्नुभएको थियो । त्यसपछि सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।
सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो कुर्सीबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित गर्नुभएको हो ।
यसैबीच, प्रतिनिधिसभाको आइतबारको बैठकमा संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा ७ दिनभित्र प्रतिवेदन तयार गर्नेगरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको जानकारी गराउनुभयो ।
यसअघि आजको सभाको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोटअफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो हिसाब दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले बोले कै आधारमा भोली भारतले नेपालले मिचेको जमिन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो ।
उहाँले नेपालले कही कतै पनि भारतको भूमि नमिचेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको र प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा बाध निर्माणको कामलाई भारतीय पक्षले अवरोध पुर्याएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवारीपूर्ण हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसद्मा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो ।
उहाँले सत्तापक्षीय दलका सभापति रवी लामिछाने भारत भ्रमण जाने समयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कतै भारतका लागि उपहार त होइन भनी प्रश्न समेत गर्नुभयो ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध जारी रहने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले तथ्य र प्रमाणविना प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रममा उभिएर बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले त्यसमा रुलिङ नगरेर मौन रहेर समर्थन गरेको भन्दै त्यसको पनि विरोध गर्नुभयो ।
सभामुख अर्यालले आइतबारको सभाको बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक–पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।
आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अर्यालले कानुन बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली मङ्गलवार दिउँसो १ः०० बजे बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्