निर्माण सुरु भएको २६ बर्षमा कालोपत्रे थालनी
अर्घाखाँची। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कलाई दाङ लगायतका पश्चिमी जिल्लासँग छोटो दूरीमार्फत जोड्ने लक्ष्यसहित निर्माण थालिएको गच्छे–भालुवाङ सडक निर्माण सुरु भएको २६ बर्षमा कालोपत्रे गर्ने कामको थालनी गरिएको छ ।

सदरमुकाम सन्धिखर्क देखि करिब ६४ किलोमिटर लामो यस सडक आयोजना सुरु भएको झण्डै २६ बर्ष बितिसक्दा पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन । हाल गच्छेबजार देखि ढिकुरा–डेभासम्मको करिब ८ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा लिएको अमर निर्माण सेवाका सञ्चालक बसन्त भुसालले जानकारी दिनुभएको छ ।
संघिय संरचना पछि लुम्बिनी प्रदेश राजधानी देउखुरी (दाङ) स्थापना पश्चात अझ बढि महत्वकासाथ हेरिएको यो सडकले बिस्तारै गति लिन थालेको स्थानीय लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
यस सडक आयोजना सम्पन्न भएमा अर्घाखाँची लगायत गुल्मी,पाल्पा जिल्लाबाट प्रदेश राजधानी देउखुरी सम्म पुग्न हाल प्रयोग हुँदै आएको गोरुसिङ्गे–भालुवाङ सडकमार्फत लाग्ने समयभन्दा झण्डै आधा समयमै पुग्न सकिने अपेक्षा गरिएको छ । सडकले गुल्मी,पाल्पा, अर्घाखाँची र दाङबिचको आर्थिक, सामाजिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
सडकको विभिन्न खण्डमा अम्मर निर्माण सेवा तथा सागर निर्माण सेवा ले आ–आफ्नो क्षेत्रमा काम अघि बढाइरहेका छन् । तर स्थानीयवासीले निर्माण कार्यलाई थप तीव्र, गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् ।
स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बन्ने समस्या अझै कायम रहेको छ । सडकका लागि पर्याप्त बजेट विनियोजन र प्रभावकारी समन्वय गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्