कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट
काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट भइरहेका छन् । हालसम्म सबै मन्त्रालयबाट ११ हजार २६२ वटा आयोजना प्रविष्ट गरिएको र नौ सय ३० वटा आयोजना प्रक्रियामा गएका जनाइएको छ ।
ती योजनामध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका दुई हजार ६२ आयोजना प्रविष्ट गरिएका जनाइएको छ ।
आगामी वर्षका लागि स्थानीय सरकार हुँदै प्रदेशको विषयगत मन्त्रालयबाट प्रदेश योजना आयोगसम्म दुई हजार ६२ वटा विभिन्न आयोजना प्रविष्ट गरिएका उक्त मन्त्रालयले जनाएको छ ।
सरकारको नीतिअनुसार १० जिल्ला तथा ७९ वटा पालिकाबाट आएका योजना प्रदेश योजना आयोगमा प्रविष्ट भएपछि मात्र कार्यान्वयनमा जाने गर्छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट भाषण गर्नुपूर्व यसरी प्रविष्ट गरिएका सम्बन्धित मन्त्रालयले योजना आयोगमा प्रस्ताव गरेका योजनाको विवरण सार्वजानिक गर्नुपर्ने अभ्यास रहेको छ ।
कर्णाली प्रदेशको सबैभन्दा बढी बजेट पाउने र कार्यान्वयन गर्ने मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेको छ । मन्त्रालयले दुई हजार ६२ वटा भौतिक पूर्वाधार क्षेत्रका आयोजनाहरू योजना बैंकमा प्रविष्ट गरेर सार्वजानिक गरेको हो ।
योजना आयोगका उपाध्यक्ष अशोकनाथ योगीले आयोजना बैंकमा प्रविष्ट भएकामध्ये दश हजार ३३२ आयोजना आगामी दिनमा कार्यान्वयन हुँदै जाने जानकारी दिनुभयो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणलाई सहज बनाउन योजना बैंकमा आयोजना प्रविष्ट गराएर प्राथमिकताका आधारमा छनोट गर्ने काम भइरहेको बताउनुभएको छ । उहाँले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकार भएकाहरूबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्