तपाईँ सुन्दै हुनुहुन्छः

गरुड दल गणको नेतृत्वमा ‘अभ्यास मनसुन–६’ सम्पन्न

दोलखा । नेपाली सेनाको गरुड दल गणले दोलखाको उत्तरी सिंगटी बजारस्थित तामाकोशी नदीमा एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन–६’ को डेमो प्रदर्शन गरेको छ।

मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए।

अभ्यासमा नेपाली सेनाका ३० जना, सशस्त्र प्रहरी बल विपद् प्रतिकार्य बेस सिंगटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीको नेतृत्वमा १५ जना तथा इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिष्णुहरि फुँयालको नेतृत्वमा करिब ५ जना नेपाल प्रहरी सहभागी थिए।

बाढी तथा नदीमा फसेका व्यक्तिको उद्धार, रोप रेस्क्यू, वाटर रेस्क्यू, सर्च एण्ड रेस्क्यू तथा सुरक्षित स्थानान्तरणलगायतका विभिन्न विपद् प्रतिकार्य अभ्यासहरू प्रदर्शन गरिएको थियो।

दोलखाको उत्तरी क्षेत्र प्राकृतिक प्रकोपका हिसाबले उच्च जोखिममा रहेकाले सिंगटी बजारस्थित तामाकोशी नदीमा अभ्यास गरिएको कर्णेल कटुवालले बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button