बाजुरामा बाढी-पहिरोको वितण्डा: जलविद्युत्, सडक र खानेपानी ठप्प, ४० भन्दा बढी परिवार जोखिममा
बाजुरा । जेठ १४ गते दिउँसो एक्कासी परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बाजुराका विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्याएको छ।

प्राकृतिक विपत्तिका कारण तरकारी खेती नष्ट हुनुका साथै घर, सडक, विद्युत् तथा खानेपानी संरचनामा समेत व्यापक क्षति पुगेको छ। यसबाट सबैभन्दा बढी क्षति जगन्नाथ गाउँपालिका–१ को पिलुचौर क्षेत्रमा भएको छ। पिलुचौर स्थित बड्डीगाड लघु जलविद्युत् परियोजनामा बाढी र पहिरोका कारण ठूलो क्षति पुगेको वडा अध्यक्ष गणेशराज गिरीले जानकारी दिनुभयो।

उहाँका अनुसार वर्षासँगै नहरको माथिल्लो भूभागबाट आएको पहिरो तथा त्यससँग बगेर आएको ढुङ्गा, गिट्टी र बालुवाले परियोजनाको फोरबे, ग्राभेल तथा अन्य संरचना भत्काएको छ। भने ७ सय ३५ मिटर नहर बगाएर सखाप बनाएको छ।त्यसैगरी पिलुचौर–ढाडाकोट–कोल्टी सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि यातायात सेवा अवरुद्ध भएको छ। बाढीले खानेपानीको ट्याङ्की पुरिदिँदा स्थानीय बासिन्दा खानेपानी समस्याबाट समेत प्रभावित भएका छन्। प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका–६ को लाटो बस्तीका करिब ३० परिवार तथा जगन्नाथ गाउँपालिका–१ का एक दर्जनभन्दा बढी घर बाढीको उच्च जोखिममा परेका छन्।

विद्युत्, सडक र खानेपानीजस्ता आधारभूत सेवाहरू अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवन निकै कष्टकर बनेको स्थानीय धनबहादुर बिसीले बताउनुभयो। बाढी र पहिरोका कारण गाउँमा आवतजावत, खानेपानी तथा विद्युत् सेवा प्रभावित भएपछि नागरिकहरू समस्यामा परेका छन्।

प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा स्थानीय समुदाय द्वारा प्राकृतिक विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा राहत व्यवस्थापनका लागि प्रदेश सरकार र नेपाल सरकारसमक्ष तत्काल आर्थिक, प्राविधिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्