तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाह प्रभावकारी बनाउन जानकी गाउँपालिकामा क्षमता विकास तालिम

बाँके। बाँकेको जानकी गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाँकेको सहजीकरणमा सञ्चालन गरिएको तालिममा जनप्रतिनिधि, वडा सचिव तथा विषयगत शाखाका प्रमुखसहित ४० जनाको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जनप्रतिनिधि तथा कर्मचारीमा अध्ययनको कमी हुँदा कामकारबाहीमा समस्या देखिने गरेको बताउनुभयो ।

“आफ्नो जिम्मेवारी र कार्यक्षेत्रबारे पर्याप्त अध्ययन नगर्दा धेरै समस्या आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यस्ता तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम, कर्तव्य तथा अधिकारबारे स्पष्ट बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्छ ।”

उहाँले तालिमबाट सिकेका विषय व्यवहारमा लागू गर्न आग्रह गर्दै जनप्रतिनिधि तथा कर्मचारीले भ्रष्टाचारबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

अधिकृत उपाध्यायले “गाउँपालिकामा गर्न नसकिने कुनै काम छैन । जाँगर र इमानदारिता भए विकास सम्भव छ,” भन्नुभयो ।

तालिममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णप्रसाद खत्रीले स्थानीय तहका काम, कर्तव्य, अधिकार तथा प्रशासनिक प्रक्रियासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा व्यक्तिगत घटना दर्ता, जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद, सामाजिक सुरक्षा भत्ता, बैंकिङ प्रणाली, विपद् पूर्वतयारी, योजना छनोट तथा सञ्चालनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

जिन्सी शाखा प्रमुख राजु यादवले सञ्चालन गर्नुभएको कार्यक्रमको समापनमा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले जनप्रतिनिधि तथा कर्मचारीलाई विद्यमान ऐन, कानुन तथा नीति–नियमबारे जानकारी गराई उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रवक्ता टिकानाथ यादव, वडा नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, सामाजिक विकास समिति संयोजक राम अचल धोबी, वातावरण तथा विपद् समिति संयोजक राजेन्द्र सिंह, सूचना प्रविधि अधिकृत विकास जिसी, प्रशासन शाखा प्रमुख गोपी चौलागाईं, वडा नं. ६ का सदस्य अजमत अली, कार्यपालिका सदस्य तारावती खटिक, कान्ती काँदु, निर्मला हरिजनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष राईले सहभागीहरू आफ्नो भूमिका, जिम्मेवारी तथा अधिकारबारे थप स्पष्ट भएको विश्वास व्यक्त गर्दै जनसेवालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button