तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्ला । विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँका रुपमा प्रचलित जुम्लाका किसान मार्सीधान रोपाइँमा व्यस्त भएका छन् । 

जेठ लागेसँगै जुम्लाका आठै पालिकाका किसान धान रोपाइँमा व्यस्त भएका हुन् । 

जिल्लाको गुठिचौर गाउँपालिका क्षेत्रमा जेठ पहिलो सातामा रोपाई भए पनि तातोपानी क्षेत्रमा जेठ दोस्रो सातादेखि रोपाई सुरु भएको छ । जुम्लामै पहिलो मार्सीधानको खेती भएको तातोपानी गाउँपालिका वडा नं २ र ३ को संयुक्त लाछु ज्युलोमा भने धान रोपाई सुरु बाँकी छ । 

विगतमा पहिलो मार्सी खेती भएको झगुरु फोक्टो’ मा तातोपानी गाउँपालिकाले रोपाई महोत्सव मनाउदै आएपनि पछिल्लो वर्षदेखि मनाउन छोडेको छ । यद्यपि धानको संरक्षण स्वरूप विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा भने धान रोपाई महोत्सव हुँदै आएको छ । छुमचौर समुद्री सतहदेखि २८ सय ५० मिटर उचाइमा छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग बढ्दै गएको मार्सी धानको खेती पछिल्ला वर्ष घट्दै गएको छ । २०७९ को बेमौसमी वर्षातपछि आएको बाढी पहिरोले जुम्लाको १८ हेक्टर मार्सी फाँटमा क्षति पुर्याएको थियो भने साढे ४ सयभन्दा बढी सिँचाई कुला भत्किएको थियो । तीनै तहका सरकारले बाढीबाट बगर बनेका मार्सी फाँटको व्यवस्थापन, किसानलाई उचित राहत प्रदान र सिँचाई कुलो पुर्ननिर्माणमा ध्यान नदिएपछि धान खेती उत्पादन घट्दै गएको छ । यद्यपि किसानले जुम्लाको वार्षिक कृषि क्यालेण्डरनुसार नै खेती गर्दै आएका छन् । एकातिर प्राकृतिक प्रकोप र अर्कातिर झारनासक विषादी ब्युटाक्लोरको लुकीछिपी प्रयोगले धान खेती घट्दै गएको छ । 

स्थानीय किसान दत्त बुढाले जुम्लाका किसानलाई धान रोप्ने चटारो लागेको बताउनुभयो । “सिँचाई असुविधाका कारण जुम्लाका गाउँमा निश्चित मिति तोकेर रोपाई गर्ने चलन छ” उहाँले भन्नुभयो, “मार्सी धान रोपाइँलाई जुम्लाका हरेक किसानले उत्सवका रुपमा मनाउँछन् । चाहे एक खेत हुने किसान हुन वा दर्जनौँ खेत हुने किसानले पनि रोपाइँलाई उत्सवका रुपमा खेती गर्छन् । पछिल्ला वर्ष धान खेती गर्ने किसान घट्दै छन् । धान खेतीमा सरकारको कुनै प्रोत्साहन छैन ।”

लाछु ज्युलोमा २०७९ को बाढीले खेतमा बालुवा भरिएपछि खेती नै हुन छोडेर बगर बनेका छन् । स्थानीय तहले बालुवा भरिएका खेतका बालुवा हटाउने, पुन धान रोप्ने गरी व्यवस्थापन गर्ने भने पनि चासो नदिँदा खेतहरू बाँझो भएको उहाँले गुनासो गर्नुभयो । 

जुम्लाको पातारासी, गुठिचौर क्षेत्रमा जेठ पहिलो सातामै रोपाई सकिएको छ । भने चन्दननाथ र तातोपानी आजभोली धान रोपाइँको भ्याई नभ्याई छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी क्षेत्रका किसान पनि धान रोपाइँमा व्यस्त छन् । 

धान रोपाई सुरु भएसँगै जुम्लाको तातोपानी गाउँपालिकाले ब्युटाक्लोर प्रयोगलाई निरुत्साहित गर्न अभियान नै सञ्चालन गरेको छ ।  बढ्दो ब्युटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भएको, मानव तथा पशु चौपायाको स्वास्थ्य गम्भीर असर पुर्याएको र प्राङ्गारिक जिल्लाको पहिचान खतरामा परेकाले तातोपानीले ब्युटाक्लोर निरुत्साहित अभियान चलाएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताउनुभयो ।

समग्र जुम्लामा २८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदा वार्षिक उत्पादन ५ हजार ९८७ मेट्रिकटन उत्पादन हुन्छ भने उत्पादकत्व २.०७ प्रतिशत रहेको छ । समग्र जिल्लाको उत्पादकत्वको तुलनामा तातोपानी गाउँपालिकामा धानको उत्पादकत्व बढी छ । जुम्लाभरिको धानको उत्पादकत्व २.०७ प्रतिशत हुँदा तातोपानीको उत्पादकत्व ३.०२ प्रतिशत रहेको छ । तातोपानीको कुल ९३.१३ हेक्टरमा धान खेती वार्षिक उत्पादन २८१ मेट्रिकटन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button