मालिकीमा सिँढीसहितको पदमार्ग निर्माण, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
मुगु। सदरमुकाम गमगढीदेखि करिब चार घण्टाको पैदल यात्रापछि पुगिने पर्यटकीय स्थल मालिकीमा सिँढीसहितको पदमार्ग निर्माण भइरहेको छ । कर्णाली प्रदेशका पहिलो सगरमाथा आरोही तथा पूर्व धावक अक्कल बोहोराको व्यक्तिगत लगानीमा उक्त क्षेत्रको पूर्वाधार विकास भइरहेको हो ।
छायाँनाथ रारा नगरपालिका–थार्पका बासिन्दा बोहोरा हाल स्पेनमा रहे पनि आफ्नो कमाइको केही हिस्सा मुगुको सामाजिक तथा पर्यटन विकासमा खर्च गर्दै आएका छन् । उनको पहलमा मालिकी क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित सिँढी निर्माण थालिएको हो ।

हालसम्म करिब दुई हजार सात सय सिँढी निर्माण सम्पन्न भइसकेको छ । आगामी चरणमा थप विस्तार गर्दै करिब पाँच किलोमिटरसम्म सिँढीसहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको बोहोराले बताए ।
“मालिकीमा पर्यटकीय सम्भावना धेरै छ तर प्रचार–प्रसार अभावले ओझेलमा परेको छ,” उनले भने, “आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज पहुँच बनाउन सिँढी निर्माणलाई निरन्तरता दिइएको हो ।”
मालिकी हिकालको टुप्पोमा अवस्थित धार्मिक महत्वको मालिकी मन्दिर रहेको छ । त्यहाँबाट मुगु, बाजुरा, हुम्ला, जुम्ला र डोल्पासहितका हिमाली भू–भागका हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । साथै रारा ताल समेत स्पष्ट देखिने स्थानीयले बताएका छन् ।
प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र हिमाली दृश्यका कारण मालिकीलाई पर्यटन विकासका हिसाबले महत्वपूर्ण सम्भावनायुक्त क्षेत्रका रूपमा लिइएको छ । स्थानीयवासीले निजी प्रयासमा भइरहेको पूर्वाधार विकासले मुगुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्