तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन र समृद्धिको लागि एकताबद्ध हुन राष्ट्रपतिकाे आह्वान (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात् गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधि, राजनीतिक दल तथा राज्यसंयन्त्र एकजुट भई अघि बढ्न आग्रह गर्नुभएको छ । 

संघीय संसदको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, राष्ट्रिय एकताको प्रवद्र्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नयाँ संसदमा अभूतपूर्व रुपमा युवा पुस्ताको प्रतिनिधित्व हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले नयाँ सरकारसँग जनताले सुशासन, उत्तरदायी र पारदर्शी सेवा प्रवाह तथा मुलुकभित्रै रोजगारीको अवसर लगायतका आकाङ्क्षा राखेको उल्लेख गर्नुहुँदै जनताको भावना र चाहना पुरा गर्न संसद् र सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनको विगत १० वर्षको अनुभव महत्वपूर्ण रहेपनि संविधानको मर्म, भावना र जनताको चाहाना अनुरुप गर्नुपर्ने धेरै काम बाँकी रहेकोले त्यस तर्फ सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले परम्परागत श्रम बजारले मात्र युवाको रोजगारीको अपेक्षा पुरा गर्न नसक्ने हुँदा रोजगारीका नयाँ क्षेत्रहरूको खोजी गर्ने तथा बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्नेगरी शैक्षिक प्रणालीमा सुधार ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रपति पौडेलले देशमा केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी श्रमको उचित प्रतिफल सुनिश्चित गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले विश्व परिवेशमा देखिएका द्वन्द्व र अस्थिरतालाई ध्यानमा राखी राष्ट्रहित अनुकूल छिमेकी तथा मित्रराष्ट्रहरूसँग विश्वसनीय, सन्तुलित र सहयोगमा आधारित कूटनीतिक सम्बन्ध अगाडि बढाउन सरकार र सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनका लागि युवा पुस्ताको आन्दोलन पछि तत्कालीन प्रतिनिधि सभाको विघटन गरी ताजा जनादेशमा जाने निर्णय भएको स्मरण गर्नुहुँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न, राज्य संयन्त्रलाई लयमा ल्याउन तथा सेवा प्रवाहमा सुधार ल्याउन भूमिका खेलेकोमा अन्तरिम सरकारलाई धन्यवाद समेत दिनुभयो । 

राष्ट्रपति पौडेलले संसद्को बैठक आह्वान भएपछि सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो । 

संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरिरहनुहुँदा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button