गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार
बाजुरा। परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।
प्रविधि तथा कृषि यान्त्रिकीकरण बढ्दै गएपछि गोरु पाल्ने क्रम घट्न थालेकाले किसानलाई गोरु पालनमा प्रोत्साहित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।
प्रोत्साहन रकम पाउने किसानमा स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना रहेका छन् ।
उक्त कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट चार सय जनाले आवेदन दिएका थिए । आवश्यक कागजात जाँच गरी दुई सय जना छनोट गरिए पनि असार २५ गतेसम्म एक सय ५६ किसानले मात्रै आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको बैंक खातामा प्रतिकिसान रु पाँच हजारका दरले रकम भुक्तानी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिनुभयो ।
“घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनोट गरी रकम उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो, “दुर्गम गाउँबाट सदरमुकाम आउन सहज नभएकालाई सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरेका थियौँ ।”
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा रु १० लाख बजेट विनियोजन गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्