तपाईँ सुन्दै हुनुहुन्छः

 प्रतिनिधिसभा सदस्य निर्वाचन: रुकुम पूर्वमा ५५ दशमलव १८ प्रतिशत मत खस्यो

रुकुम पूर्व । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेको छ । यो संख्या कुल मतदाताको ५५दशमलव १८ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी प्रसाद सुवेदीले दिनुभएको जानकारीअनुसार खसेको मतमध्ये ९ हजार २४ पुरुष र १० हजार १६४ महिला रहेका छन् । सुवेदीका अनुसार जिल्लाका तीन वटै स्थानीय तहमा उत्साहजनक सहभागिता देखिएको छ । 

स्थानीय तहअनुसार पुथा उत्तरगंगा गाउँपालिका मा ६ हजार १३१, सिस्ने गाउँपालिकामा ६ हजार ७९० र भूमे गाउँपालिकामा ६ हजार २६७ मत खसेको छ । 

जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र अब सबै मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी हुने सहायक निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button