तपाईँ सुन्दै हुनुहुन्छः

युनेस्कोले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो 

रुपन्देही  । युनेस्कोले विश्व सम्पदा स्थल रहेको लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट एक वर्षका लागि हटाएको छ । 

फ्रान्सको पेरिसमा भइरहेको युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औँ सेसनले संरक्षणमैत्री र सुधारका काम भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

“युनेस्कोले यहाँ भएका केही कमजोरीलाई देखेर संभावित खतराको सूचिमा राख्ने चेतावनी दिएपछि कोषले उसले दिएका सबै विषयहरू सुधार गरेको हो, मायादेवी मन्दिरमा पानी चुहिएको समस्या, मार्कनस्टोनमा पानीले सिपेज आएर भएको समस्यालगायत काम गर्दा भएका कमजोरी सबै दिएको सुझावअनुसार सुधार गरेर नियन्त्रणमा ल्याएका छौँ, यससँग सम्बन्धित कुनै पनि काम गर्दा युनेस्कोलाई सोधेर गरेका हौँ”, उहाँले भन्नुभयो– “चेतावनी थियो तर सबै करेक्सन गरेका छौँ, अब अक्टोबरमा अनुगमनका लागि मिसन टोली हेर्न आउने छ । ०२२ मा पनि आएको हो । यसलाई रोक्न सक्नु नै सकारात्मक र उपलब्धी हो ।”

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको र त्यहाँ कोषबाट गएको टोली फर्केपछि अन्य तयारी गर्ने उहाँले जानकारी दिनुभयो । 

अक्टोबरमा आउने मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने सेसनमा सहभागी लुम्बिनी विकास कोषका अधिकारीले जनाएका छन् ।  

यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदा विज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औँ सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावले तत्काललाई खतराको सूचीमा समावेश भएको थिएन । तर, त्यहाँ लुम्बिनीका विषयमा भएको छलफलमा नेपालले राखेका प्रस्ताव, उठेका विषय, जिज्ञासा र आएका सुझावलाई समेटेर युनेस्को वर्ल्ड हेरिटेज कमिटीले फ्रान्सस्थित नेपाली दूतावासमार्फत १२ बुँदे निर्णय र निर्देशन पठाएको थियो ।

लुम्बिनीका सम्पदाको संरक्षण र व्यवस्थापन गर्न एकीकृत व्यवस्थापन संरचना (इन्टिग्रेटेड म्यानेजमेन्ट फ्रेमवर्क) निर्माण र त्यसलाई कार्यान्वयन गर्न विश्व सम्पदा क्षेत्रमा विभिन्न सेक्टर स्ट्रयाटेजी (खण्डित रणनीतिक योजना) बनाएर काम थालेपछि युनेस्कोले सकारात्मक रूपमा लिएको छ । पाँच विषयमा पुरातत्त्व, भिजिटर व्यवस्थापन, प्राकृतिक प्रकोप, स्थानीय विकास र बौद्ध समुदायलाई समेटेर सेक्टर स्ट्रयाटेजी बनाइएको हो ।

आईएमएफ समग्रमा अवधारणा दिने नीति हो भने सेक्टर स्ट्रयाटेजी काम गर्ने योजना हो । त्यस्तै अशोक स्तम्भ, मार्कर स्टोन (चिनो ढुङ्गा) र नेटिभिटी स्कप्चर्सको संरक्षण, सरसफाइ र सिपेज हुन नदिन उपकरण र प्रविधि प्रयोग गरेर काम थालेपछि युनेस्कोले राम्रो मानेको छ । मायादेवी मन्दिरमा रंगरोगन, पङ्खा, बिजुली र बत्ती लगाएर राम्रो बनाइएको छ । कोषका अध्यक्ष, उपाध्यक्षसहितको टोली अहिले त्यो कार्यक्रममा सहभागी हुन जानुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button