बेमौसमी वर्षाले गहुँ बाली र तरकारीमा क्षति

बाँके । दुई दिनको बेमौसमी वर्षाले गहुँ बालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा गत बुधबार राती चलेको हावाहुरी र बिहीबारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको नरैनापुर ४ का मोहम्मद हनिफले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँ बाली उडाएर यत्रतत्र छरिएका छन् । असिना पानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।’
नरैनापुर–१ का वडा अध्यक्ष इसाक जोलाहले काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ । ‘खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँलाई पानीले भिजाएपछि कुहिने डर छ’, उहाँले भन्नुभयो, ‘दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।’

नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले अहिले नरैनापुरका किसानले ७५ प्रतिशत गहुँ भित्र्याइ सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हवारीहुरीले खेतमै ढलेको गहुँ २५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँ बालीमा १५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ ।
अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उहाँको भनाइ छ । ‘यसरी कृषि बाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन’, उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्वसूचना गरेको भए क्षति केही न्यूनीकरण गर्न सकिन्थ्यो कि ?’
यसैगरी बाँकेको डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले भन्नुभयो,सबैभन्दा धेरै असर पाकी सकेको गहुँ, जौ, तरकारीमा परेको छ । डुडुवा गाउँपालिका वडा नं. ६ का किसान जयपाल मौर्यले भन्नुभयो, ‘अब के खाने ? छोराछोरीलाई कसरी पाल्ने ?’ पानीले कृषि बालीमा पुर्याएको क्षतिको असरले किसानहरू भोकमरीको चिन्तामा पारेको छ ।
बेमौसमी वर्षातले पाकिसकेको गहुँ, मसुरोलगायतका अन्नबालीमा ठुलो क्षति पुर्याएको डुडुवा गाउँपालिका वडा नं. ६ वडाध्यक्ष मोहनराम मिश्रले बताउनु भयो । उहाँले भन्नुभयो,‘डुडुवा ६ मा काँक्रा, भिण्डीलगायतका तरकारी बालीमा समेत क्षति पुगेको छ ।’
प्रतिक्रिया राख्नुहोस्