तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले जलवायुबाट प्रभावित देशहरूको आवाजको प्रतिनिधित्व गर्छ: मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु जोखिमका हिसाबले प्रभावित देशहरूको आवाजको समेत प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘विश्व दिगो विकास सम्मेलन–२०२५’लाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले राससलाई जानकारी दिनुभयो । मन्त्री शाहीले नेपालजस्ता जलवायुका हिसाबले अत्यन्त संवेदनशील पर्वतीय देश र अल्प विकसित देशहरूलाई जलवायु सङ्कट न्यूनीकरणका लागी गरिने लगानीको आवश्यकता र अहिलेको वित्तीय अन्तर बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

नेपाल प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता, जलस्रोत र हिमालयन श्रृखलाका मनमोहक परिदृश्यको धनी देश भएको बताउँदै उहाँले तर जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणाली, अर्थव्यवस्था र सामाजिक प्रणालीहरूमा गम्भीर सङ्कटको सामना गर्नुपरिरहेको उल्लेख गर्नुभयो ।

“हाम्रा हिमाली भेगबाट उत्पत्ति हुने हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन् जसले दक्षिण एसियाको पानी र ऊर्जा सुरक्षालाई खतरामा पार्दै गएको छ । सन् २०२१ देखि २०२४ सम्म जलवायु जन्य विपद्का कारण नेपालले अनुमानित एक अर्ब अमेरिकी डलरको प्रत्यक्ष आर्थिक नोक्सान व्यहोरेको छ,” मन्त्री ठकुरीले भन्नुभयो, “जैविक विविधता र प्रदूषणको सङ्कटसँगै जलवायु सङ्कटले हाम्रा जनताको जीविकोपार्जन, दिगो विकास लक्ष्य र भावी पुस्ताको अस्तित्वलाई नै सङ्कटमा पारेको छ ।” 

सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा २.२ प्रतिशतको क्षति हुन् सक्ने कुरा एसियाली विकास बैङ्कको अध्ययनले जनाएको छ ।

उहाँले नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी–३) बनाउने अन्तिम तयारीमा रहेको जानकारी गराउँदै सन् २०४५ सम्म कार्बनलगायत अन्य हरित ग्यासको उत्सर्जनलाई शुन्यमा झार्ने गरी लक्षहरू निर्धारण गरेको बताउनुभयो । विश्व तापमान वृद्धि १.५ डिग्रीमा कायम हुन् सकोस् भन्ने आफूहरू प्रतिबद्ध रहेको मन्त्री शाहीले बताउनुभएको थियो ।

जलवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३०) को विषयवस्तु ‘जलवायु अनुकूलन अर्थव्यवस्थामा रूपान्तरण ल्याउनु’ महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी विश्वको सबै भन्दा घना र ठूलो जङ्गल यमाजेन रेनफोरेष्टलाई हाम्रो हिमशृङ्खलासँग जोड्न चाहन्छौ । यी दुईको सम्बन्धले हरित र निलो अर्थतन्त्रहरूलाई हरूलाई जोड्न पनि मद्दत गर्ने अपेक्षा गरेका छौँ ।”

नेपालले राष्ट्रिय निर्धारित योगदान ९एनडिसी–३० मा प्रकृतिमा आधारित जलवायु अनुकूलन र हरित आर्थिक विकासका आयामलाई प्राथमिकतामा राखी अगाडी बढाउने योजना बनाउन लागेको उहाँले जानकारी गराउनुभयो । “हाम्रो अपार जैविक विविधता, जलस्रोत, पर्यटन र विविध कृषि पारिस्थितिकीय प्रणालीलाई खाद्य, पानी, ऊर्जा र स्वास्थ्य सुरक्षा सुधारका लागि उपयोग गर्नेछौ,” मन्त्री शाहीले भन्नुभयो, “विश्वव्यापी उत्सर्जनमा हाम्रो योगदान नगण्य भएकाले, हामी विशेष गरी कम विकसित र पर्वतीय देशहरूलाई पहुँचयोग्य, न्यायसंगत जलवायु वित्त प्रदान गर्न जलवायु सम्मेलन प्रक्रियामा समानता र जलवायु न्यायका लागि आफ्नो आवाज विश्व मञ्चमा राख्न चाहन्छौ ।”

उहाँले कार्बन उत्सर्जन गर्ने प्रमुख उत्सर्जनहरूलाई आफ्नो उत्सर्जन घटाउन, स्वछ ऊर्जामा आधारित अर्थ व्यवस्थामा जान र जलवायु लगानी बढाउन तथा हानि नोक्सानीको बढी जिम्मेवारी लिन समेत आग्रह गर्नुभयो । “नेपाल जलवायु वित्तको सरलीकरण, जलवायु वित्तमा अनुदान र सहुलियत ऋणको लागि आवाज बुलन्द गर्न चाहन्छ/ विकसित राष्ट्रहरूले सन् २०३५ सम्म वार्षिक ३०० अर्ब अमेरिकी डलरको प्रतिबद्धता पूरा गर्ने छन् भन्ने विश्वास लिएका छौँ” मन्त्री शाहीले भन्नुभयो ।

सो अवसरमा उहाँले भारत सरकारले जङ्गलको संरक्षण, जलवायु कार्य, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा र कृर्षीको दिगोपनाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै यसले नेपालको लागि पनि महत्वपूर्ण सिकाई भएको उल्लेख गर्नुभयो ।

वर्तमान र भविष्यको अन्तर्राष्ट्रिय कार्बन बजार संयन्त्रले जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै मन्त्री शाहीले भन्नुभयो, “हामी, कार्बन क्रेडिट र व्यापारिक गतिविधिहरूमा संलग्न विकसित देश तथा संस्थाहरूले उत्सर्जन घटाउने लक्ष्यहरू पूरा गर्न आवश्यक छ भन्ने ठान्दछौ ।”

उहाँले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायको ध्यान आकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद काठमाडौँमा आयोजना गर्न लागेको जानकारी गराउँदै सम्मेलनमा आमन्त्रण समेत गर्नुभयो ।

मन्त्री शाही ‘विश्व दिगो विकास सम्मेलन–२०२५’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । उहाँ फागुन २४ गते स्वदेश फर्कने तालिका छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button